रमेश क्षितिजः एक ब्युरोक्रेट्स, एक कवि
कवि रमेश क्षितिजसँग एउटा समय थियो, जतिबेला निर्धक्क कविता, गीत लेखेर बस्थे । कवि श्रवण मुकारुङ, विप्लव ढकाल, रमेश केसी, खुमनारायण पौडेलहरुसँग मैतीदेवीका चिया पसलमा कविताका बिम्बहरु खोजिबस्थे । त्यो त्यहीं समय थियो, जुन समयमा कविताबाहेक अर्थोक थिएन क्षितिजसँग ।
घट्टेकुलोको कोठाभरि पुस्तकका चाङ थिए । संगत पनि पुस्तक प्रेमीसँगै थियो । जहाँ जाँदा पनि कविताकै प्रसंग आउँथ्यो ।
त्यो समय कुनै योजना अथवा तालिकामा नसमेटिएको समय थियो क्षितिजको । बेपर्वाह बाँचिरहेको सुन्दर समय थियो । क्षितिजका कत्ति रातहरु कवितामा अथवा पुस्तकका पन्नाहरुमा सकिन्थे । कत्ति बिहानहरु निद्रामा सकिन्थे । कत्ति साँझहरु चियाका गिलासमै सकिन्थे ।
मुकारुङ, केसी, ढकालहरुसँगै सकिए कत्ति साँझ–बिहानहरु त ! रेडियो नेपाल होस् वा पत्रपत्रिकाका अफिस, सँगसँगै जान्थे । कविता होस् या गीत, सँगसँगै लान्थे । आफूलाई स्थापित गर्न लागिपरेको ती दिनहरु अझै पनि क्षितिजको स्मृतिमा चलमलाइरहन्छन् । उनलाई त्यही सम्झनाहरुले नयाँ कविता लेख्न झक्झक्याइरहन्छन् ।
सम्झनाहरुको स्वभावै हो, मानिसलाई केही नयाँ गर्न तागत दिइरहन्छ । स्मृतिहरुले नै मानिसलाई ज्यादातर खुसी हुने ऊर्जा दिइरहन्छ । स्मृतिकै गोहोहरु पहिल्याउँदै मानिसहरु विगततिर फर्किरहन्छन्, जीवनतिर फर्किरहन्छन् ।
केही समयअघि श्रवण मुकारुङले एक स्टाटस लेखे, ‘काठमाडौं आएपछि सबैभन्दा लामो समय बससेको मैतीदेवी मन्दिर पछाडिको घर । सपनामा खाली यहीँ आइपुग्छु । केही छुटेको पो छ कि भनेर आज २२ वर्षपछि हेर्न आएको, आँसुले आँखा छोप्यो… त्यतै फर्किएँ ।’
त्यो समय कुनै योजना अथवा तालिकामा नसमेटिएको समय थियो क्षितिजको । बेपर्वाह बाँचिरहेको सुन्दर समय थियो । क्षितिजका कत्ति रातहरु कवितामा अथवा पुस्तकका पन्नाहरुमा सकिन्थे । कत्ति बिहानहरु निद्रामा सकिन्थे । कत्ति साँझहरु चियाका गिलासमै सकिन्थे ।
मुकारुङको यो स्टाटसले क्षितिजलाई फेरि त्यही समयमा फर्काइदियो । उनले कमेन्ट लेखे, ‘अहो ! धेरै यादहरु आए । धेरै कथा छन्, यो घरको सेरोफेरोमा । ती समय, ती दिनहरु !’ मुकारुङको स्टाटसले क्षितिज त्यहीबेलाको जिउँदो स्मृति र सम्झनाहरुको भिडमा पुगे । त्यो घट्टेकुलो, त्यो तारेममको घर, त्यो मैतीदेवीको चिया पसल, त्यतैकतै हराए क्षितिज ।
तर, जीवन एकै तरीकाले मात्रै बितिजान सम्भव छैन !
मैतीदेवी–घट्टेकुलोको साढे दुई दशकअघिको त्यो दैनिकी र अहिलेको दैनिकी फिटिक्कै मिल्दैन क्षितिजको । सरकारी सेवामा प्रवेश गरेर जीवनको अर्को बाटो पनि खनेका क्षितिजको काँधमा अहिले ब्युरोक्रेट्स हुनुको जिम्मेवारी पनि सँगसँगै छ ।
प्रशासन सञ्चालनसँगै कविता
केही समयअघि सुर्खेतमा प्रमुख जिल्ला अघिकारी थिए उनी । त्यहाँ कर्णाली उत्सव आयोजना भएको थियो । त्यहाँका युवा मिलेर तयारी भएको महोत्सवमा क्षितिज पनि जोडिएका थिए । क्षितिज वक्ता थिए, कवि श्यामल अघिकारीसँग । सहजकर्ता थिए, पत्रकार विमल आचार्य ।
अफिसबाट कार्यक्रमका लागि हिँडे उनी । महोत्सवस्थल पुग्नेवेला उनलाई खबर आयो, ‘प्रदर्शनकारीले बाटोका ढुंगामूढा गर्ने अवस्था सृजना भयो, तपाईं आउनुपर्यो !’
कविताबारे बोल्न, छलफल गर्न हिँडेका क्षितिजको गाडी तुरुन्त टर्न भयो र फर्कियो । पाँच–सात मिनेट मात्रै बाँकी थियो सेसन सुरु हुने समय, तर सेसन नै छाडेर फिरे ।
गत माघ एक गते सिन्धुलीमा पनि साहित्यिक कार्यक्रम थियो । क्षितिज पनि सहभागी थिए त्यहाँ । कार्यक्रमका लागि हेटौंडाबाट कवि निमेष निखिल, अनिता न्यौपानेलगायत आएका थिए । तर, त्यही बीचमा क्षितिजहरुले आदेश जारी गर्नुपर्ने भयो, ‘ओमिक्रोनका कारण २५ जनाभन्दा बढी भेला हुन नपाउने ।’
केही समयअघि श्रवण मुकारुङले एक स्टाटस लेखे, ‘काठमाडौं आएपछि सबैभन्दा लामो समय बससेको मैतीदेवी मन्दिर पछाडिको घर । सपनामा खाली यहीँ आइपुग्छु । केही छुटेको पो छ कि भनेर आज २२ वर्षपछि हेर्न आएको, आँसुले आँखा छोप्यो… त्यतै फर्किएँ ।’
क्षितिज सुनाउँछन्, ‘आदेश जारी गरियो, पछि साथीहरु आए । तर, म आफैं आदेश जारी गर्ने, अनि म नै कार्यक्रममा जाने अवस्था भएन, म गइनँ ।’
‘प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भएकाले कतैबाट फोन आउँछ, निर्णय लिनुपर्ने हुन्छ । कतै वार्ता गर्नुपर्ने हुन्छ । जिम्मेवारी र व्यस्तता बढी हुन्छ,’ क्षितिज सुनाउँछन् । तर, आफ्ना सबै भूमिकालाई राम्रोसँग कार्यसम्पादन गर्नु एउटा कर्म र सृजनाको कर्म अर्को रहेको उनको भनाइ छ ।
कहिलेकाहीँ उनलाई आफू चरित्र अभिनेताजस्तो लाग्छ, जसले पर्दामा अनेक जिन्दगीहरु बाँचिदिन्छ । भन्छन्, ‘चरीत्र अभिनेताले जस्तो भूमिका निर्वाह गर्छ, त्यहीं हो म । लेख्ने कुरा एकातिर हुन्छ, जिम्मेवारी निर्वाह गर्ने कुरा अर्कोतिर हुन्छ ।’
निजामति सेवामा प्रवेश गर्नुअघि एक कविता संग्रह ल्याए क्षितिजले, ‘अर्को साँझ पर्खेर साँझमा’ । दोस्रो संग्रह ल्याए स्थानीय विकास अधिकारी भएर रोल्पामा खटिँदा, ‘घर फर्किरहेको मानिस’ ।
‘घर फर्किरहेको मानिस’मा एक कविता छ, ‘नयाँ सपना’ शीर्षकको । कविताको एक पंक्ती छ,–
म त्यहीँ थिएँ
कुनै दन्त्यकथाको श्रापित पत्थर जस्तै
वर्षौंदेखि मलाई प्रतीक्षा थियो तिम्रो स्पर्शको ।
क्षितिज रोल्पामा खटिएका थिए । मुलुक परिवर्तनको संघारमा थियो । ०६२–६३ को परिवर्तनपछि पहिलो संविधानसभाको चुनाव भएको थियो । संविधानसभाबाट नयाँ संविधान बनाउने कसरत भइरहेको थियो । रोल्पाको एक गाउँमा क्षितिजको एक किसानसँग भेट भयो । ती किसानले भने, ‘मलाई चिउरी टिप्नु जानु छ, सरहरु आउनुभएकाले जान सकिनँ । हामीले काम गरेर नै बाँच्नुपर्छ । यी साना छोराछोरीले पछि के गरी खालान् ?’
क्षितिजहरुले ती किसानको समय खाइदिएका थिए । काममा जानुपर्ने व्यक्ति क्षितिजहरुलाई स्वागत गर्नका लागि बसेका थिए । ती किसानको परिस्थिति, चिउरी टिपेर छाक चलाउनुपर्ने अवस्था र स–साना नानीहरुको चिन्ता ! एक सरकारी कर्मचारी भएर गएका क्षितिजको कवि–हृदयमा एउटा ढुंगो खसालिदिए ती किसानले । पछि सदरमुकाम आएपछि कविता लेखे ।
क्षितिज त्यसबेला दाङ–रोल्पा आउजाऊ गरिरहन्थे । एक दिन बिहानै चिया पनि नपिएर दाङबाट रोल्पा हिँडे । होलेरी पुगेपछि चिया पिउन एक पसलमा बसे । चिया पसलमा काठको बेन्च थियो । उक्त बेन्चमा कसैले एउटा रुमाल छाडेर गएको रहेछ ।
शान्ति प्रक्रिया चलिरहेको थियो । त्यस ठाउँ वरिपरि थुप्रो क्यान्टोनमेन्ट थिए । कहिलेकाहीँ निरीक्षणका लागि क्यानटोनमेन्ट जान्थे क्षितिजहरु । लडाकुहरुका कथा खुबै सुनिने समय थियो त्यो । उनीहरुले वाचन गरेका कथा र अनुभूति आफैंमा नौला हुन्थे ।
क्षितिजले रुमाललाई नियालेर हेरे । उनलाई लाग्यो, रुमाल कोही लडाकुले नै छाडेको हो । रुमालमा उसकै कथा होला, पसिना होला । अनि कविता लेखे, ‘लडाकुको रुमाल’ ।
स्वेच्छिक अवकास लिएर
घर फकिएरहेको पूर्वलडाकुले
बिर्सिहिँडेछ बाटोछेउको झुपडीजस्तो चिया पसलमा
पसिना पुछेर राखेको रुमाल ।
कविता लेखन र कविताप्रतिको सचेतनाको पहिलो जग घट्टेकुलो–मैतीदेवीका ती गल्ली र संगतले निर्माण भए पनि त्यसलाई समृद्ध बनाउने अर्को जग निजामति कर्मचारी भएर मुलुकका विविध भूगोल र मानिसहरुको जीवनशैली देखेपछि निर्माण भएकोे बताउँछन् क्षितिज ।
कामको सिलसिलामा पुगिएका ती ठाउँ, ती मानिसहरु, उनीहरुको संस्कृति, भाषा इत्यादि खुराकले कविताको नयाँ विषय, बिम्ब बनाउन सहयोग गरेको क्षितिजको अनुभव छ । क्षितिज सुनाउँछन्, ‘मेरा कविता लेखनमा मात्रै होइन, कार्यसम्पादनमा पनि कविताले सहयोग गरेको छ । कर्तव्यनिष्ठ तरिकाले काम गरुँ, न्याय प्रदान गरुँ, मानिसहरुको हितमा काम गरुँ भन्ने भावनाको पछि कवि हुनुको आदर्शले पछ्याइबस्छ मलाई ।’
निजामति सेवामा प्रवेशको संयोग छ क्षितिजको । उनले पढाइ सकाइसकेका थिए । पहिला एक ठाउँमा जागिर गर्थे, तर जागिर छाडेका थिए । कानून पढेका उनले ल फर्म खोल्नेबारे पनि सोचे– केही न केही त गर्नैपरो नत्र काठमाडौं छाडेर जानुपरो ।
दोसँधकै बीच उनको एक साथी पाहुना लाग्न आए । सहायक सीडिओ बनेका ती साथीले भने, ‘तपाईं साहित्य, संगीत भनेर लाग्नुभएको छ, तर आफूले प्राप्त गरेको योग्यताको प्रयोग गर्नुभएको छैन । योग्यता त प्रयोग हुनुपरो नि !’
२०५६ सालमा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरे क्षितिजले । यसपछि उनको बाटो केही फरक रह्यो । कविता, गीत लेख्ने ती साथीहरुसँग भेटघाट पातलियो । तर, सुरुवाती कालका ती साथीहरुलाई भने सझिरहन्छन् । अचेल कहिलेकाहीँ मात्रै भेट हुन्छ साथीहरुसँग ।
तर, क्षितिजलाई भने लाग्थ्यो, लोकसेवा पढ्ने काम उत्ति गतिलो काम होइन । यता साहित्य, संगीततिर चर्चामा आइरहिएको छ । राजेश पायल राईको स्वर रहेको ‘नमाग मसँग जूनतारा नमाग’ जस्ता गीत लेखेका क्षितिज सुनाउँछन्, ‘तर एकखाले आकर्षण चाहिँ थियो सरकारी सेवामा । एकपटक दिइहेरौँ न भन्ने सोचेँ । लोकसेवाको तयारीमा लगेँ । इतिहास, भूगोलमा विस्तारै चाख लाग्दै गयो र अन्ततः नाम निकालेँ ।’
२०५६ सालमा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरे क्षितिजले । यसपछि उनको बाटो केही फरक रह्यो । कविता, गीत लेख्ने ती साथीहरुसँग भेटघाट पातलियो । तर, सुरुवाती कालका ती साथीहरुलाई भने सझिरहन्छन् । अचेल कहिलेकाहीँ मात्रै भेट हुन्छ साथीहरुसँग ।
कहिलेकाहीँ टेलिफोनमा कुराकानी हुन्छ । उनी सुनाउँछन्, ‘कुराकानी हुँदा पुरानु कुराहरुको पनि सम्झना गर्छौ । त्यो समयमा त्यही कुरा सामान्य लाग्थ्यो, अहिले त्यही कुरा एकदमै सुन्दर लाग्छ । चिया पसल, गीत संगीतको कुरा, साँझतिरको भेटहरुको सम्झना आउँछ ।’
तर, अहिले पनि कवि लेखकको सर्कलमा एक खालको भाष्य छ– कवि लेखक भनेको सधैं प्रतिपक्षी हुनुपर्छ, उसले निरन्तर प्रश्न गरिरहनुपर्छ । क्षितिज भने यसलाई परम्परागत मान्यता हो भन्छन् । क्षितिजको तर्क छ, ‘संसारमा कठोर निरंकुशता हुँदा कवि लेखकले स्वतन्त्रता, मुक्तिको पक्षमा बोल्नुपर्ने भएकाले उनीहरुलाई प्रतिपक्षीको रुपमा देखिन्थ्यो । तर, राज्यलाई सधैं विरोधी स्वर सुनाउनुपर्छ भन्ने हुँदैन । परिस्थितिले निक्र्यौल गर्ने कुरा हो त्यो ।’
प्रतिपक्षीकै आवाज निकाल्न कतै पनि अंकुश नभएको उनको धारणा छ । आफू सरकारी ओहदामा भए पनि मनमा लागेको कुरा लेख्न, न्यायको पक्षमा उभिन कतै अंकुश नभएको बताउँछन् ।
‘अन्याय, उत्पीडितहरुको हितमा बोल्न जिम्मेवारीले असर गर्छ भन्ने लाग्दैन । तर, कविले सधैं विरोध मात्रै गरिरहनुपर्छ, आक्रोश मात्रै लेखिरहनुपर्छ भन्ने लाग्दैन । यी परिस्थितिजन्य कुरा हुन्,’ नारालाई कविता मान्ने कि नमान्ने विषयमा क्षितिज भन्छन्, ‘कविता चाहिँ कवित्व हुनु, सौन्दर्यचेत हुनु नै कविता हो । दैनन्दिन बोलिने भाषा र कविताको भाषा फरक हुन्छ । नत्र त सामान्य संवाद भइहाल्छ नि ! तर, नारालाई मात्रै चाहिँ कविता मान्न सकिँदैन ।’
मेरा मित्र रमेशजीको बारेमा राम्रो आलेख । धन्यवाद नवीनजी ।