एमाले सिन्धुपाल्चोक : सहमति जुटाउन भन्दै सबैलाई उम्मेदवारी फिर्ता लिन निर्देशन – Nepal Press

एमाले सिन्धुपाल्चोक : सहमति जुटाउन भन्दै सबैलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि स्थगित भएको नेकपा एमाले सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन माघ महिना भित्रै सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटका लागि भन्दै अध्यक्षमण्डलले आग्रह गरेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा उमेदवार दिएका प्राय सबैले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।

अध्यक्षमण्डल सहित अध्यक्ष, अन्य पदाधिकारीका आकांक्षीहरुको शनिबार बसेको बैठकमा प्रायः सबैले उम्मेदवारी फिर्ता लिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा केदार क्षेत्री, कमल नेपाल, होमनारयण श्रेष्ठ, बालकृष्ण देउजा र डोल्मा तामाङले उम्मेदवारी दर्ता गराएका थिए ।

सर्वसम्मत बनाउन सबैले उमेदवारी फिर्ता लिन अध्यक्ष मण्डलले आग्रह गरेपछि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका मध्ये चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

बालकृष्ण देउजा, होमनारयण श्रेष्ठ, कमल नेपाल र डोल्मा तामाङले उम्मेदवारी फिर्ता लिए पनि अध्यक्षमा उमेदवारी दिएका केदार क्षेत्रीले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

अध्यक्षमा उम्मेदवारी दिएका पाँच मध्ये चार जनाले फिर्ता लिएपछि अब बाँकी प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा एमालेका नेता कार्यकर्ताहरु अन्यौलामा नै परेका छन् ।

‘अब पाँचमा चार ले फिर्ता लिएपछि केदार जी सर्वसम्मत हुनु पर्ने हो, तर अध्यक्षमण्डलको इन्टेष्ट के छ बुझ्न सकिएको छैन’, पदाधिकारीमा उमेदवारी दिएका एक नेताले भने ।

अध्यक्षमा उम्मेदवारीबाट तत्कालका लागि ब्याक भएपनि सबै जनाले उमेदवारी फिर्ता नलिएको सन्दर्भमा भने निर्वाचनमा नै आफुहरु जाने अध्यक्षका उम्मेदवार कमल नेपालले जानकारी दिए ।

‘सबैले उम्मेदवारी फिर्ता लिएनन् भने निर्वाचन हुन्छ र निर्वाचन हामी सबैले फेस गछौ’ नेपालले भने । तर अध्यक्षमा उम्मेदवारी दिएपनि फिर्ता नलिएका केदार क्षेत्री भने चार जनाले फिर्ता लिएपछि आफू नै सर्वसम्मत हुनु पर्ने दाबी गर्छन् ।

अध्यक्षमण्डलका अध्यक्ष समेत रहेका एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले भने निर्वाचन नगराउने र सर्वसम्मत नेतृत्व छनोट गर्ने संकेत दिएका छन् ।

अध्यक्षमा कमल नेपाल र सचिवमा कृष्णगोपाल तामाङलाई बनाउने गरेर स्थायी कमिटी सदस्य तामाङले गृहकार्य अघि बढाएको स्रोतको दाबी छ ।

उपाध्यक्षमा चार, सचिवमा आठ र उपसचिवमा ९ जना सहित पदाधिकारीमा कुल २६ ले उमेदवारी दर्ता गराएपनि अहिलेसम्म २४ जनाले उमेदवारी फिर्ता लिएका छन् । नेताहरुबीच सर्वसम्मति नभए आगामी माघ २३ गते सबै स्थानीय तहमा नेतृत्व छनोटका लागि निर्वाचन हुने अध्यक्षमण्डलका एक सदस्यले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “एमाले सिन्धुपाल्चोक : सहमति जुटाउन भन्दै सबैलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

  1. शायद यो समाचार प्रायोजित हुनसक्छ । जिल्लाका नेता कार्यकर्ताहरुको के भावना आउँदोरहेछ भनेर लेखाइएको हो कि जस्तो लाग्यो । समाचारका लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर