विज्ञान र सीपको प्रयोग गरेर विपद् न्यूनीकरण गर्न सरकार क्रियाशील छ : गृहमन्त्री – Nepal Press

विज्ञान र सीपको प्रयोग गरेर विपद् न्यूनीकरण गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

भर्चुअल माध्यममा भएको विपद् न्यूनीकरणसम्बन्धी कार्यक्रममा आज गृहमन्त्री खाँणले प्राकृतिक विपद्बाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताए ।

मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाँणले पुर्खाले अवलम्बन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गरे ।

गृहमन्त्री खाँणले भवन निर्माणको मापदण्ड पालना गर्न आग्रह गरे । पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको र नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको बताए ।

गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रियरूपमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले निर्देशन दिए । उनले कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नसमेत उनले आग्रह गरे ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पूर्वसूचना प्रणालीजस्ता नवीन प्रविधिहरूको प्रयोग विपद्को न्यूनीकरणमा लगाउन आवश्यक रहेको बताए ।

समयमै सानो सावधानी अपनाएमा ठूलो विपदबाट जोगिन सक्ने उनको भनाइ थियो । यस विषयमा मन्त्रालय सकारात्मक रहेको गृहसचिव पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर