स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा प्रदर्शन – Nepal Press

स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा प्रदर्शन

गौर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ ।

संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्‍यालीको आयोजना गरेको हो ।

उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक बन्द गर’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्‍याली चिनी मिल हुँदै बजारको परिक्रमा गरी गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरे ।

विगतमा २० वर्षसम्म स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाएर लोकतन्त्रको मजाक उडाउने कलंक बोकेको देउवा सरकारले पुनः कलंक दोहोर्‍याउन उद्दत रहेको यादवको भनाई छ ।

यादवले तत्काल निर्वाचनको घोषणा नगरेको खण्डमा सरकारविरुद्ध देशभर युवा संघद्वारा जारी सडक संघर्ष अझ सशक्त बनाउने गर्ने उद्घोष गरे ।

राष्ट्रिय युवा संघले गत साता रौतहट सदरमुकाम गौरमा मन्त्री रेणु यादवको बर्खास्ती लगायतको माग राख्दै प्रदर्शन गरेको थिए । दुबै प्रदर्शन संघको जिल्ला संयोजक बालाशंकर कुश्वाहाको नेतृत्वमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर