बंगुरपालक युवाको निराशा- कोरियाको अनुभव खन्याउँदा पनि धौ-धौ
इटहरी । पुस तेस्रो साता इटहरीका युवा करुणाशंकर राईले सामाजिक सन्जाल फेसबुकमा पीडा पोखे, ‘युट्युबमा आएको समाचार जस्तो सजिलो रहेनछ बंगुर पालन । अवसर एक चुनौती दर्जनौं रहेछन् । जे होस् कृषि पेशामा लागियो…।’
बंगुर पालनमा सोचेजस्तो सजिलो नभएको भन्ने राई यो व्यवसायमा नयाँ होइनन् । पुर्ख्यौली थलो संखुवासभामै हुँदा वंशज बंगुर पालनको अनुभव उनीसँग छ । चार वर्ष दश महिना वैदेशिक रोजगारीमा कोरिया रहँदा पनि उनले बंगुर फार्ममै काम गरे । दक्षिण कोरियाको जिंजुमा रहेको व्यवसायिक बंगुर फार्ममा काम गरेर स्वदेश फर्किएको दुई वर्ष भयो ।
एकतर्फ पुर्ख्याैली सीप अर्कोतर्फ आधुनिक बंगुर पालन अनुभव । यी दुवै हुँदाहुँदै राईको व्यवसायमा आशातीत सफलता मिल्न सकेको छैन ।
किन मिलेन ?
यसमा राईले मुख्य तीन समस्या औल्याएका छन् । पहिलो, चारोको दाम धान्नै नसकिने हुनु । ‘पचास किलो राम्रो चारोको दाम तीन हजार पर्छ’, राई भन्छन्, ‘एक माउले एक्लैले दिनको चार किलो खान्छ । यो त बास्मती चामल भन्दा महँगो भयो,’ धेरै बंगुर फारमहरुले चारो महँगो भएर होटलहरुको बचेखुसेको बासी खानाहरु खरिद गर्ने गरेको राईले सुनाए ।
एक राम्रो होटलमा मासिक पाँच हजार रुपैयाँसम्म तिरेर खाना खरिद हुने उनी बताउँछन् । भन्छन, ‘अब यस्तो किन्न पनि नयाँ खुलेका होटलबाट मात्रै सम्भव छ ।’
बंगुर पालनको दोश्रो समस्या पाठाको मूल्य खस्कनु पनि हो । ‘केहि वर्ष अगाडिसम्म प्रति पाठा ८÷१० हजारसम्म विक्री हुन्थे,’ उनी भन्छन्, ‘अहिले मैले विक्री गर्ने समयमा प्रतिपाठा ६/७ हजार मात्रै छ ।’
बंगुर फारमको उत्पादनलाई मासुमा बेच्दा प्रति सुँगुर ३ देखि ४ हजार रुपैयाँसम्म घाटा हुने अर्को समस्या उनले ब्यहोरेका छन् ।
कोरियामा स्तरीय खोप, भिटामिन र औषधि पाइने भएकाले बंगुर हुर्काउन र दूध बढाउन सजिलो हुने उनको अनुभव थियो । तर, नेपालमा कुनै सुविधा प्राप्त छैन ।
‘नेपालमा पनि औषधि नपाइने हैनन्, तर कोरियामा जस्तो राम्रो परिणाम आउने औषधि मैले भेटिनँ,’ उनी भन्छन्, ‘बंगुर पालन र यसको सम्भाव्यबारे आवश्यक अनुसन्धान र विकासको काम नेपालमै पटक्कै देखिनँ । तरहराको कृषि अनुसन्धान केन्द्रमा समेत केहि माउ सुँगुर राखेर मात्रै अनुसन्धान गरिएको देखियो । यो अपुरो छ ।’ केहि समय अगाडि १२ पाठा जन्मँदा दुध नपुगेर हैरानी भएको उनले सुनाए ।
बीमा लगायतका सुविधासमेत बंगुर फारम संचालक समस्यामा रहेको उनको गुनासो छ । उपयुक्त खोप, औषधि र बीमा तेश्रो मुख्य समस्या भएको उनको अनुभव छ ।
इटहरीको जनता बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी राजनीतिसँगै व्यवसायका लागि आर्थिक जोहो गर्न कोरिया पुगेका थिए । कोरियाको सीप र कमाइ प्रयोग गरेर डेढ वर्षअघि बी फार्म नामक कम्पनी दर्ता गरेका छन् ।
६ महिना अगाडि उनले इटहरी–१९ को पटेरुवामा ४ कट्ठा क्षेत्रफल जग्गा लिएर बंगुर फार्म सन्चालन गरेका हुन् । फारममा माउ र बच्चा गरेर दुई दर्जन बंगुर छन् । फारमको भौतिक संरचनामा मात्रै उनको २५ लाख हाराहारी लाग्यो । फार्ममा कर्मचारी राखेका छैनन् । साँझ बिहान उनी आफैं काममा पुग्छन् । परिवारका सदस्यहरुले पनि हेरचाह गर्छन् ।
घरपरिवारकै सक्रियता, पुर्ख्याैली पेशा र आधुनिक सीप सबै लाउँदा पनि आशालाग्दो आम्दानी नहुनु उनको सबैभन्दा ठूलो चिन्ता हो । तर, पूरै निराश भने छैनन् ।
‘देशमै आएर युवाहरुले आफ्नो श्रम, सीप र लगानी गर्नुपर्ने सरकारी कुरा सुन्दा जत्ति राम्रो लाग्छ, कार्यान्वयनमा त्यत्तिकै अप्ठेराहरु रहेछन्,’ उनी भन्छन्, ‘अब नीति निर्माण तहबाटै राष्ट्रिय समाधान खोज्नुपर्छ । अनि मात्र युवा आकर्षित हुन्छन् ।’