ओटीटीलाई राष्ट्रबैंकको लिस्नु, डलर कार्डबाट ९ महिनामै विदेशियो एक अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत साता एक सूचना जारी गर्दै भर्चुअल करेन्सीहरूको कारोबार नगर्न सर्वसाधारणलाई सचेत गरायो । नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएको हुँदा यसको कारोबारले अवैधरूपमा नेपाली पैसा बाहिरिएर स्वदेशी पूँजी पलायन हुने चिन्ता राष्ट्रबैंकले व्यक्त गरेको छ ।
क्रिप्टोकरेन्सीको सन्दर्भमा यसरी चिन्तित बनेको राष्ट्र बैंकले नेपाली पैसा अवैधरूपले विदेश पठाउने एउटा मुहान झैं बनिरहेको ओटीटी प्लेटफर्मका सन्दर्भमा भने निरीह देखिन्छ । ओटीटीको अवैध धन्दालाई रोक्न राष्ट्र बैंकले पहल नगरेको मात्र होइन, उल्टै प्रोत्साहन र संरक्षण गरिरहेको छ ।
राष्ट्र बैंकले ९ महिनाअगाडि नेपालीहरूलाई वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउने व्यवस्था गर्यो । विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले यस्तो सुविधा पाउँछन् । यसकै आधारमा वाणिज्य बैंक तथा विकास बैंकहरूले आफ्ना ग्राहकलाई प्रिपेड कार्ड वितरण गर्ने गरेका छन् । यस्तो कार्ड प्रयोग गरेर एक व्यक्तिले वार्षिक अधिकतम ५ सय डलरसम्म खर्चेर विदेशबाट विभिन्न मालवस्तु खरिद गर्न सक्छन् ।
राष्ट्रबैंकको अनुमतिमा जारी गरिएको यो डलर कार्ड ओटीटीमा अत्यधिक दुरूपयोग भएको पाइएको छ । नेपालमा विभिन्न ओटीटी प्लेटफर्ममार्फत विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रशारण गर्न पाउने कानूनी प्रावधान नै छैन । राष्ट्रिय प्रशारण ऐनअनुसार यस्ता सामग्री प्रशारण गर्न सूचना तथा सञ्चार मन्त्रालयबाट पहिले लाइसेन्स लिनुपर्छ । तर, बिनालाइसेन्स ओटीटीबाट विदेशी टेलिभिजन कार्यक्रम, फिल्म, टिभी सिरिज लगायत श्रव्यदृष्य सामग्री निर्वाध प्रशारण भइरहेका छन् र यसमा डलर कार्ड सहयोगी बनेको छ । डलर कार्डमार्फत वार्षिक ५ सय डलरसम्मका सामग्रीहरू नेपालीले किनेर विभिन्न एपमार्फत हेरिरहेका छन्, जसले गर्दा ठूलो परिमाणमा नेपाली पैसा विदेशिएको छ ।
नेपाल प्रेसले यसअघि नै नेटफ्लिक्सलगायतका ओटीटी प्लेटफर्मबाट वार्षिक अर्ब रूपैयाँ विदेशिने गरेको तथ्य उजागर गरिसकेको छ । त्यो पनि नेपाल सरकारलाई कुनै कर नतिरिकन । यति ठूलो नेपाली मुद्रा बाहिरिँदा राष्ट्र बैंकले भने गम्भीर चासो दिएको पाइँदैन । जबकि नेपाली पैसाको अपचलन रोक्ने मुख्य जिम्मेवार निकाय राष्ट्र बैंक नै हो ।
डलर कार्डबाट कति पैसा बाहिरियो ?
डलरकार्डबाट जेजति पैसा विदेश गइरहेको छ, त्यसको ठूलो हिस्सा ओटीटी प्लेटफर्मले नै लैजान्छन् भन्नेमा सन्देह छैन ।
राष्ट्रबैंकले गत चैतमा डलर कार्ड खुल्ला गरेयता विभिन्न वाणिज्य बैंकबाट २१ हजार ५५ जनाले यस्तो कार्ड लिइसकेका छन् । यो ९ महिनाको अवधिमा २ करोड १३ लाख ७७ हजार डलर (करिब २ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी) कार्डमा लोड भएको छ । त्यसमध्ये ८५ लाख ३५ हजार डलर (एक अर्ब २ करोड रूपैयाँभन्दा बढी) कार्डमार्फत खर्च भएको छ ।
राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार २०७७ साल चैतमा २ हजार १ सय ७४ जनाले डलर कार्ड लिएका थिए । पहिलो महिनामा ४ लाख ७७ हजार डलर लोड भएकोमा ५१ हजार डलर खर्च भएको थियो ।
२०७८ साल वैशाखमा डलर कार्ड लिनेको संख्या ४ हजार ४ सय ३२ पुग्यो । वैशाखमा ८ लाख ७६ हजार डलर लोड भएकोमा १ लाख ७२ हजार डलर खर्च गरियो । यस्तै, जेठमा ५ हजार २ सय ४० जनाले डलर कार्ड लिए भने १० लाख ३६ हजार डलर लोड भयो । लोड भएकोमध्ये २ लाख ७२ हजार डलर खर्च भएको आँकडा राष्ट्र बैंकको छ ।
असार महिनासम्म ८ हजार ४ सय ९३ जनाले डलर कार्ड लिएकोमा १६ लाख ७८ हजार डलर लोड भएको थियो । लोड भएकोमध्ये ४ लाख ८९ हजार डलर खर्च भयो । साउनमा ११ हजार ४ सय २५ जनाले डलर कार्ड लिए भने २३ लाख ९ हजार डलर लोड भयो । त्यसमध्ये ७८ लाख डलर खर्च भएको छ ।
भदौमा १४ हजार ३ सय ६० जनाले डलर कार्ड लिएकोमा २९ लाख ४९ हजार डलर लोड भएको थियो । त्यसमध्ये १० लाख ९३ हजार डलर खर्च भएको छ ।
असोज महिनामा डलर कार्ड लिनेको संख्या १६ हजार ३ सय ३४ पुग्यो । त्यस महिना कार्डमा ३४ लाख ३७ हजार डलर लोड भएको छ भने १४ लाख ९६ हजार डलर खर्च भएको छ । यस्तै, कात्तिकमा १८ हजार ३ सय २८ जनाले डलर कार्ड लिएकोमा ४० लाख ६ हजार डलर लोड भएको थियो । त्यसमध्ये १८ लाख ९५ हजार डलर खर्च भएको छ ।
मंसिरमा २१ हजार ५५ जनाले डलर कार्ड लिएकोमा ४ करोड ६० लाख ५५ हजार डलर कार्डमा लोड भएको छ । त्यसमध्ये २२ लाख ८७ हजार डलर खर्च भएको छ । मंसिरयताको तथ्यांक भने राष्ट्र बैंकले निकालिसकेको छैन ।
यसरी डलर कार्डबाट ९ महिनामै साढे २ अर्ब विदेशिएको तथ्यांक बोकेर बसिरहेको राष्ट्र बैंक यसलाई रोक्न भने उदासिन छ । डलर कार्डमार्फत विदेश गएको रकमको ठूलो हिस्सा ओटीटी प्लेटफर्मले नै लैजाने ओपन सेक्रेटबारे पनि राष्ट्र बैंकका अधिकारीहरू अनभिज्ञ छैनन् । तर, खोई के परिवन्दले हो, उनीहरू यसमा निरिह देखिएका छन् ।
राष्ट्र बैंक भन्छ- कार्डबाट अवैध खर्च गर्न मिल्दैन
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले डलर कार्ड प्रयोग अवैध तरिकाले प्रयोग नहुने बताए ।
उनले भने, ‘अवैध कारोबारमा डलर कार्डबार्ट खर्च गर्न मिल्दैन । डलर कार्डबाट अवैध क्षेत्रमा डलर लगानी गरेमा डलर कार्ड दिने बैंकले नै रोक्ने गरेको छ । कसले डलर केमा खर्च गरे भनेर नेपाल राष्ट्र बैंकलाई रिपोर्ट पठाउनु पर्छ ।’
डलर कार्डका लागि अनुमति दिँदा राष्ट्र बैंकले विदेशबाट नेपालमा डलर आउने दाबी गरेको थियो । तर, ९ महिनाको अवधिमा अर्बौं रकम डलर कार्डमार्फत विदेशिँदा नेपाल आएको डलरको परिमाण भने नगण्य छ ।
‘ओटीटीको लुट सरकारको छुट’ श्रृंखलाका यी सामग्री पनि पढ्नुस् :
भाग १- देशको ढुकुटी रित्याउने खेल ! नेटफ्लिक्सहरूले लग्दैछन् बर्सेनि सात अर्ब
भाग २- फेसबुकमार्फत ओटीटीको विचौलिया धन्दा, ‘पोर्न’ को समेत व्यापार (प्रमाणसहित)
बरु cryptocurrency लाई सहि ढंगले बेलैमा सदुपयोग गरि नियमान गर्नसके त डलर् र बिदेशिमुद्रा देशमा भित्राउन सक्छ! Cryptocurrency बिदेशिमुद्रा होईन यो त जनताको स्वोतन्त्र बिश्वोब्यापि ग्लोबल् मुद्रा हो! समय र बिश्वो बिकाशक्रम लाई देख्ननसक्ने बुझ्ननसक्ने अदुरदर्शि र असक्षम अनि अयोग्य ब्यक्तिहरुले अर्थतन्त्र हाकेको देश यस्तै हो!