रुपन्देहीमा बन्यो कृषि ज्ञान केन्द्र, सेवाग्राही खुसी – Nepal Press

रुपन्देहीमा बन्यो कृषि ज्ञान केन्द्र, सेवाग्राही खुसी

रुपन्देही । कृषि क्षेत्रका लागि उर्वर भूमि मानिने रुपन्देहीमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । रुपन्देहीमा कार्यालय स्थापनापछि आइतबार कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रका सूचना अधिकारी अनिलकुमार कानु बनियाँले प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रकम बराबरका वार्षिक कार्यक्रम तय गरिएको बताए । कार्य सम्पादनका लागि अब पाँच महिना मात्र बाँकी छ । पाँच महिनामा कार्यक्रम कार्यान्वयनमा ल्याएर लक्ष्यअनुसारको प्रगति हासिल गर्न ज्ञान केन्द्रले रणनीतिक योजना बनाएको कार्यालय प्रमुख सन्देश धितालले बताए । अवधि कम भएकाले स्थानिय तहका कृषि प्राविधिकको सहयोगमा कार्य तालिकाअनुसार काम अगाडि बढाउने उनले बताए ।

यसअघि नवलपरासी र रुपन्देही जिल्ला हेर्ने गरी परासीमा कार्यालय रहेका थियो । यहाँका किसानहरुले रुपन्देहीमै कार्यालय स्थापनको माग गर्दै आएका थिए । स्थानीयको मागअनुसारको सेवा प्रवाहमा कठिनाइ भएपछि प्रदेशको कृषि मन्त्रालयले रुपन्देहीमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

कृषि ज्ञान केन्द्रले आइतबार १६ वटै स्थानीय तहका कृषि अधिकारीहरुसँग छलफल गरी समन्वय गरेर अगाडि बढ्ने जनाएको छ । कार्यक्रम सञ्चालन हुने स्थानीय तहका कृषि प्राविधिकले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । सम्बन्धित स्थानीयका कर्मचारीको समन्वयमा प्रदेशका कार्यक्रम सञ्चालन भए बेथिति रोकिने रोहिणी गाउँपालिका कृषि प्राविधिक सहायक जितेन्द्र यादवले बताए ।

देवदह नगरपालिका कृषि प्राविधिक पविन्द्र मल्ल तथा शुद्धोधन गाउँपालिका कृषि प्राविधिक सहायक रमेश रेग्मीले जिल्लामै ज्ञान केन्द्रको स्थापनाले काम गर्न धेरै सजिलो हुने बताए । केन्द्रले तथ्याङ्क अद्यावधिक गर्ने, प्राविधिक सेवा तथा प्राविधिकको क्षमता अभिवृद्धी, अल्पकालिन र दीर्घकालिन योजना तथा सुचकहरु तर्जुमा र कार्यान्वयन गर्ने, व्यवसायिक तथा दिगो खेती प्रवर्धन र उन्नत प्रविधि, सामूहिक खेती तथा बजारिकरण प्रवर्धनमा जाने गरि कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

दुई महिनाअघि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले थप चारवटा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । जसमा अर्घाखाँची, नवलपरासी र गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र रुपन्देहीमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *