२० नियोगमा राजदूत नियुक्त गर्ने सरकारको तयारी, परराष्ट्रले बुझायो नाम (सूचीसहित)
काठमाडौं । सरकारले रिक्त २० नियोगमा राजदूत नियुक्ति गर्न तयारी थालेको छ । तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाइएको झन्डै ६ महिनापछि तयारी थालिएको हो ।
सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति र सिफारिसबारे छलफल भएको हो ।
आफ्नो पार्टीको तर्फबाट नाम दिन देउवाले प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । राजनीतिक भागबण्डाको आधारमा १३ देखि १४ र परराष्ट्र मन्त्रालयको तर्फबाट सातदेखि आठजना राजदूत नियुक्त हुने बताइएको छ ।
सत्ता गठबन्धनमा परराष्ट्रलाई सात राजदूत दिने भनिएपनि परराष्ट्रले भने मन्त्री नारायण खड्कामार्फत आठ राजदूतको दावी गरिरहेको छ । परराष्ट्रले राजदूत हुने सहसचिवहरुको नाम तय गरिसकेको छ ।
कात्तिक ११ गते सरकारले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि शंकर शर्मा र अमेरिकाको लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो । तीनैजनाको संसदीय सुनुवाइ सकिएको छ भने आचार्य चाहिँ बेलायतबाट एग्रिमो आइसकेर पनि राष्ट्रपतिबाट राजदूत नियुक्त भैसकेका छन् ।
कांग्रेसको कोटाबाट भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस भैसकेका छन् भने नेकपा माओवादी केन्द्रलाई चीन नियोग दिइने भएको छ । एकीकृत समाजवादीलाई जापान र जसपालाई बंगलादेश नियोग दिने लगभग सहमति भएको छ ।
चीनको लागि राजदूतमा लीलामणी पौडेल, रुपक सापकोटा, युवराज चौलागाइँ र ऋषि अधिकारीको नाम समेत चर्चामा छ । यीमध्ये लीलामणीको सम्भावना बलियो रहेको माओवादी निकट स्रोतले बतायो । एकीकृत समाजवादीबाट मिलन तुलाधर, प्रमेश हमाल र केशव बस्यालको नाम चर्चामा छ ।
परराष्ट्र मन्त्रालयबाट बुझाइएका नाम यी हुन् :
निर्मलराज काफ्ले, डोरनाथ अर्याल, हरिश्चन्द्र घिमिरे, भरतकुमार रेग्मी, तेजबहादुर क्षेत्री र तीर्थराज वाग्ले ।
विभिन्न मुलुकमा नेपालका ३० वटा दूतावास, राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । ३३ वटा कूटनीतिज्ञमध्ये मन्त्रालयबाट १० जना छन् ।
यी हुन् राजदूत खाली रहेका बीस नियोग
चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइन