रोयल्टी नतिर्ने पाँच क्यासिनोलाई सात दिने अल्टिमेटम, नबुझाए कारवाही गर्ने मन्त्री आलेको चेतावनी – Nepal Press

रोयल्टी नतिर्ने पाँच क्यासिनोलाई सात दिने अल्टिमेटम, नबुझाए कारवाही गर्ने मन्त्री आलेको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले रोयल्टी नबुझाउने क्यासिनोहरुलाई सात अल्टिमेटम दिँदै बाँकी वक्यौता चुक्ता गर्न भनेको छ ।

मंगलबार एक सूचना जारी गर्दै पर्यटन मन्त्रालयले सातदिनभित्र बाँकी रहेको वक्यौता बुझाउन भनेको हो ।

आर्थिक वर्ष २०७६/०७७ सम्मको वक्यौता होटल याक एण्ड यति लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार तिर्न बाँकी रहेको छ ।

यस्तै ओरियन्टल होटल्स लिमिटेज (र्‍याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख तिर्न बाँकी रहेको छ ।

यस्तै, रक इन्टरनेशनल प्राली काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्राली काठमाडौंले २१ करोड ५५ लाख र सेन्ट्रल मिडिया प्राली काठमाडौंले १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

गत कार्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद जारी तोकेर पत्राचार गरिएपनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएपछि सात दिने सूचना जारी गरिरहेको हो ।

पर्यटनमन्त्री आलेले क्यासिनोहरुले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सक्रियता देखाएको हो ।

यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तूर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सन्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाडौंको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो संचालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।

क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तूरसहित १४ करोड २० रूपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा अध्यागमनबाट रोकिएको थियो ।

पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर