मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरी र एमाले कार्यकर्ताबीच झडप – Nepal Press

मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरी र एमाले कार्यकर्ताबीच झडप

कैलाली । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि भएको पुत्ला दहन तथा प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियु कैलालीले जनाएको छ ।

झडपमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकड मात्रै भएको बताए ।

‘पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा सामान्य धरपकड भएको हो’ उनले भने ‘इन्स्पेक्टर सामान्य घाइते हुनुभएको छ । उहाँको कानमा चोट लागेको छ ।’

यता अनेरास्ववियुले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको बताएको छ ।

झडपमा अनेरास्ववियु कैलालीका सचिव रोहित बोगटीसहित केही युवाहरू घाइते भएको जिल्ला अध्यक्ष किशोर शाहले बताए ।

‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ प्रहरीले दमन गर्‍यो’ उनले भने ‘हाम्रा केही साथीहरू घाइते हुनुभएको छ ।’

अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएको छन् ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर