लुम्बिनीको नेतृत्व फेर्न कांग्रेस नेताहरुबीच छलफल तीव्र – Nepal Press

लुम्बिनीको नेतृत्व फेर्न कांग्रेस नेताहरुबीच छलफल तीव्र

माओवादी नेताको प्रतिक्रियाले असन्तुष्ट बन्दै कांग्रेस

रुपन्देही । लुम्बिनी प्रदेशको सत्ता समीकरण फेरबदलको विषयमा कांग्रेस नेताहरुले छलफल थालेका छन् । गत साउन २८ गते एमाले नेतृत्वको सरकार विस्थाापित गर्दै माओवादीको नेतृत्वमा सरकार गठन भएको थियो ।

त्यतिबेला आधा–आधा समय माओवादी केन्द्र र नेपाली कांग्रेसले नेतृत्व संहाल्ने सहमतिमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बन्न सहयोग गरेका थिए ।

१६ महिने कार्यकालमा आधा–आधा भनेको समय नजिकै आउँदा कांग्रेस नेताहरुले सहमतिको विषय बाहिर ल्याएका छन् तर माओवादी नेताहरुले लुम्बिनीको मात्रै नभएर सबै देशभरको सहमतिपछि मात्रै नेतृत्व छाड्ने विषयमा बोलेपछि दुवै पार्टीका कुरा बाझिन थालेका छन् ।

माओवादी केन्द्रका नेता तुलाराम घर्तीमगरले केही दिनअघि कसैलाई मुख्यमन्त्री चाहिएर सरकार नफेरिने अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरुले सहमतिलाई बलियोगरी बाहिर ल्याउन खोजेका छन् ।

त्यसो त तत्कालीन समयमा गरिएको सहमति कुनै लिखित नभएको र अहिले सरकारको नेतृत्व फेर्दा गठबन्धन सरकारको पक्षमा राम्रो सन्देश नजाने भएकाले तत्काल सरकारको नेतृत्व फेरिने सम्भावना नभएको माओवादीका एक नेताले बताए । उनले यो विषय देशव्यापी भएकाले र स्थानीय तहको निर्वाचन नजिएकाले सरकार फेरबदल नहुने दावी गरे ।

तर, कांग्रेस नेताहरुले सहमति अनुसार आधा समय सकिएपछि मुख्यमन्त्री कुलप्रसाद अ‍ेकसीले नैतिकताको आधारमा पद छोड्नुपर्ने तर्क गर्दै आएका छन् । कांग्रेसका प्रमुख सचेतक फकुरिद्दिन खाँले सहमति अनुसार नै गठबन्धन अगाडि बढ्ने बताउँदै आएका छन् ।

कांग्रेसका सांसदका अनुसार साउन २८ मा सरकार गठन हुँदा सो पार्टीबाट नसमेटिएका सांसदहरुलाई ८ महिनापछि मन्त्री बन्ने भनेर थमथमाइएको थियो, त्यो कारणले पनि मन्त्री बन्ने लाइनमा भएका कांग्रेस सांसदहरुले समहतिको कुरा जोडतोडले उठाएका छन् भने मन्त्री बनिसकेका सांसदहरुले अब सरकार फेर्न आवश्यक नरहेको तर्क गर्न थालेका छन् ।

सरकारको नेतृत्व पाउने सहमति दिएको माओवादीले विषय मोड्न थालेपछि मुख्यमन्त्रीको लाइनमा बसेका कांग्रेस नेता बीरेन्द्र कनौडियाले कांग्रेस नेताहरुलाई भेटेर माओवादीलाई सहमति अनुसार नेतृत्व छाड्नुपर्ने कुरा गर्न थालेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका कनौडिया अहिले आफ्नो समूहमा मात्रै नभएर पार्टीको प्रदेश सभापति जितेका कोइराला समूहका अमरसिंह पुनसँग पनि भेटेर यो विषयमा कुराकानी गरेका छन् । लुम्बिनी प्रदेशमा अल्पमतमा रहेको देउवा समूहलाई संस्थनपन इतर समूहले यो विषयमा सकारात्मक साथ दिन्छ वा आलटाल गर्छ भन्ने विषयमा अन्यौलता रहेको एक कांग्रेस नेताले बताए ।

प्रदेश सभापति पुन र संसदीय दलका नेता कनौडियाबीच कांग्रेस लुम्बिनीको पार्टी कार्यालय बुटवल तामनगरमा भेटवार्ता भएको थियो ।

दुईबीच पार्टीको संसदीय फाँट, सरकार सञ्चालनको सहमतिका विषयमा छलफल भएको सभापति पुनले नेपाल प्रेसलाई बताए ।

‘यो विषयमा छलफल भएको हो, सहमति अनुसार अगाडि बढ्ने विषयमा कु्राकानी भयो तर राष्ट्रिय अवस्थालाई मध्यनजर गर्दै अगाडि जाँदा राम्रो हुने कुरा आएको छ,’ उनले भने ।

भेटमा सत्ता सञ्चालन, सरकारमा सहभागी मन्त्रीहरुको कारकारवाही लगायतका विषयमा छलफल भएको सभापति पुनले बताए । त्यस्तै सत्ता सञ्चालनको लागि अहिले सार्वजनिक भएको सहमति÷सम्झौता के हो ? र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

भेटमा कांग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्रराज आचार्यलगायत नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर