भलिबल खेलाडी लोकेन्द्रलाई कोरोनाले दिएको असैह्य सास्ती – Nepal Press

भलिबल खेलाडी लोकेन्द्रलाई कोरोनाले दिएको असैह्य सास्ती

जसलाई मृत्युको मुखबाट श्रीमती र छोरी जोगाउँदाको ऋणले पोलिरहेछ

रुपन्देही । जसलाई वा जसको परिवारलाई नराम्ररी थलाएको छैन, उसलाई कोराना संक्रमण सामान्य लाग्नसक्छ । तर संक्रमणका कारण परिवारका सदस्य गुमाएका र थला पारेकाहरुलाई कोरोनाले जिन्दगीभर बिर्सनै नसक्ने चोट दिएको छ । हो, कोरोनाकै कारण असैह्य पीडा भोगेकामध्येका एक हुन्, राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारी ।

चर्चित भलिबल खेलाडी तथा लेबल वान कोच भण्डारीलाई कोरोना महामारीले यस्तो असहज परिस्थतिमा पुर्यायो कि उनकी गर्भवती पत्नी शोभा र पेटको बच्चा बचाउन लाखौं खर्च गर्न पर्यो । उपचारका लागि धेरै सहयोगीको साथ लिनुुपर्यो ।

भदौ महिनामा लोकेन्द्र कपिलवस्तुमा भलिबल खेल सकेर घरमा आउँदा साढे दुई वर्षका छोरा र पत्नी शोभालाई ज्वरो आएको थियो । उनले छोरा र पत्नीलाई स्थानीय मेडिकलमा लगेर चेक गराए । औषधि सेवनपछि छोरालाई ज्वरो निको भयो । तर पत्नी शोभाको खोकी रोकिएन । श्रीमती गर्भवती भएकाले लोकेन्द्रलाई झन् बढी तनाव भयो ।

डाक्टरको निर्देशनबमोजिम गरिएको कोभिड परीक्षणमा रिपोर्ट पोजेटिभ आयो । अक्सिजनको मात्रा घटेर ५० मा झरेको र छाती खराब देखिएकाले तुरुन्तै आईसीयू शय्यामा भर्ना गर्न भनियो ।

त्यो बेला अस्पतालमा बेड पाउन पनि निकै समस्या थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयू बेड पाइएन । दुई दिन इमरजेन्सीमा राखेर उपचार गरे पनि शोभाको स्वास्थ्यमा सुधार नआएपछि तेस्रो दिन तिलोत्तमा मणिग्रामस्थित क्रिमसन अस्पतालमा आईसीयू बेड मिलाएर लगियो । तर त्यहाँ पनि सुधार हुने अवस्था नदेखेपछि डाक्टरले काठमाडौं लैजान सुझाव दिए ।

हेलिकप्टरबाट पत्नीलाई काठमाडौं लैजान मात्र चार लाख रुपैयाँ खर्च भएको लोकेन्द्रले बताए । उनी भन्छन्, ‘छोरीको दैनिक भेन्टिलेटर खर्च दुई लाख रुपैयाँभन्दा बढी भयो । वार्डमा सारेपछि दैनिक ४० हजारसम्म भयो ।’ लोकेन्द्रले उक्त अभियानमा निकै राम्रो समन्वय गरेका मित्र लक्ष्मण काफ्लेलाई स्मरण गरिरहेका छन् ।

प्राविधिक रूपमा बुटवलभन्दा सुविधासम्पन्न काठमाडौंका अस्पतालमा गर्भको सन्तान र पत्नीलाई निको होला भन्ने विश्वासका साथ उनले तत्काल निर्णय लिए काठमाडौं लैजाने । त्यो समयमा उनी आफै पनि संक्रमणमा परिसकेकाले हेलिकप्टरमा जान दिइएन । र लोकेन्द्रले हेलिकप्टरमा पत्नीलाई बुवासँग काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा पठाए ।

धेरै दिन संक्रमणले गालेकाले शोभा बेहोसजस्तै थिइन् । मेडिसिटी अस्पताल लगेपछि शोभालाई थप औषधि चलाउनका लागि अपरेसन गरेर बच्चा निकाल्नुपर्ने भयो । बच्चा नलिकाले दुवैको ज्यान खतरामा पर्ने चिकित्सक बताएपछि ७ महिनाको गर्भबाट अपरेसन गरी बच्चा (छोरी) निकालियो ।

बच्चा र आमालाई भेन्टिलेटरमा राखियो । तर यस्तो अवस्थामा लोकेन्द्र आफै संक्रमित भएर घरमै बस्नपरेको थियो । श्रीमती शोभाको गुमेको होस नफर्किएको सुनेपछि लोकेन्द्र कोभिड निको नहुँदै पत्नी र छोरी भेट्न काठमाडौं गए । आफ्नो पीडालाई दबाएर धेरै दिन–रात उनले अस्पताल परिसरमै बिताए । श्रीमती र छोरीलाई भेन्टिलेरमा राखेर दिनहँु अस्पताल परिसरमा डक्टरहरुले निको हुने संभावना कम छ भनेर सुनाउँदाको सही नसक्नु पीडा लोकेन्द्रले धेरै दिन खप्नपर्यो ।

उनको पीडा यतिमै सीमित रहेन । अस्पतालको दैनिक खर्च जुटाउन उनलाई धौधौ पर्न थाल्यो । ऋण गरेर ल्याएको पैसा सकियो । तर रोग निको हुने छाँट देखिएन । भेन्टिलेटरमा राखेर उपचार गर्दा अस्पतालमै दैनिक २ लाख रुपैयाँसम्म खर्च उठ्न थालेपछि तनाव थपिदै गयो । २० दिनसम्म उनको श्रीमतीको होस पनि आएन ।

डाक्टरले समेत आश मारेको समयमा २१ औं दिनमा चमत्कार जस्तै भयो र शोभाले आँखाका परेला हल्लाइन् । अनि लोकेन्द्रलाई आशा पलायो । अस्पतालमा भर्ना गरेको २४औं दिनमा घाँटीबाट ट्यूब राखेर फोक्सोसम्म पाइप जडान गरी श्वासप्रश्वासमा सहजीकरण गरियो तर ज्वरो घटेको थिएन ।

२६औं दिनमा कोभिड रिपोर्ट नेगेटिभ आयो । अक्सिजन लेबल पनि मिल्दै गयो । ४ दिनपछि शोभालाई भेन्टिलेटरबाट आईसीयूमा सारियो । लोकेन्द्रलाई मृत्युको मुखबाट श्रीमतीलाई उम्काएको अनुभूति भयो ।

आईसीयूमा सारिए पनि शोभाको पूरै होश आएको थिएन । अस्पताल भर्ना गरेको ४० दिनपछि शोभाले केही मात्रामा भए पनि स्मरण गर्न थालिन् । छोरीलाई पनि ३९ दिनपछि भेन्टिलेटरबाट एनआईसीयूमा सारियो ।

यो बीचमा उनले धेरै साथीभाइ, दाजुभाइ र ससुरालीबाट निकै सहयोग पाए आर्थिक व्यवस्थापनका लागि । तर अस्पतालमा कल्पना नगरेको खर्च बढेपछि त्यसरी पाएको सबै पैसा सकियो । अस्पतालको खर्च मात्रै ८३ लाख रुपैयाँ आएको थियो ।

त्यतिबेला उनको परिवारलाई बँचाऊ भन्दै नेपाल नेशनल भलिबल फ्यान समूहले देश–विदेशमा सहयोग अभियान सञ्चालन गरे । लोकेन्द्र भन्छन् ‘म जस्तो खेलाडीले कहाँबाट त्यति पैसा जम्मा गर्नु ? खेलाडी भएर चिनिएकाले धेरै साथीबाट सहयोग उठाउनुभएको रहेछ । सबैको साथ र सहयोगले श्रीमती र छोरीलाई बचाएँ ।’

धेरै दिन संक्रमणले गालेकाले शोभा बेहोसजस्तै थिइन् । मेडिसिटी अस्पताल लगेपछि शोभालाई थप औषधि चलाउनका लागि अपरेसन गरेर बच्चा निकाल्नुपर्ने भयो । बच्चा नलिकाले दुवैको ज्यान खतरामा पर्ने चिकित्सक बताएपछि ७ महिनाको गर्भबाट अपरेसन गरी बच्चा (छोरी) निकालियो ।

हेलिकप्टरबाट पत्नीलाई काठमाडौं लैजान मात्र चार लाख रुपैयाँ खर्च भएको लोकेन्द्रले बताए । उनी भन्छन्, ‘छोरीको दैनिक भेन्टिलेटर खर्च दुई लाख रुपैयाँभन्दा बढी भयो । वार्डमा सारेपछि दैनिक ४० हजारसम्म भयो ।’ लोकेन्द्रले उक्त अभियानमा निकै राम्रो समन्वय गरेका मित्र लक्ष्मण काफ्लेलाई स्मरण गरिरहेका छन् ।

खर्च जतिसुकै भए पनि लोकेन्द्रले पत्नी र छोरीलाई बचाउन सफल भए । बाँच्ने आशा नै नभएका पत्नी र छोरीलाई ८४ दिनको अस्पताल बसाइपछि भण्डारीले पुसको दोस्रो हप्ता रूपन्देहीको तिलोत्तमा–२ स्थित घरमा ल्याएका हुन् ।

असोज ९ गते काठमाडौं गएको भण्डारी परिवार पुस १४ गते फर्किएको हो । अस्पतालमा सेवा दिएका डाक्टरले अहिले पनि शोभालाई फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने गर्छन् । लोकेन्द्र र उनको परिवारले डक्टरलाई साँच्चै भगवान् मानेका छन् ।

३९ वर्षका लोकेन्द्र मणिमुकुन्द भलिबल क्लब र सिद्धार्थ बोर्डिङ स्कूलका प्रशिक्षक हुन् । उनको परिवारलाई बचाउन उनले पढाउने र सिकाउने विद्यार्थीहरू पनि जुटेका थिए ।

लोकेन्द्र भन्छन्, ‘अहिले फेरि ८३ लाख रुपैयाँ छोरी र श्रीमती बचाउन खर्च भयो । साथीसङ्गीको सहयोगबापत ३० लाख रुपैयाँ उठाएँ, अरू सबै ऋण खोजेर अस्पतालबाट निस्किएँ । अब ऋण पार लगाउने चिन्तामा छु । जागिरले त्यतिधेरै ऋण तिर्न सकिने अवस्था छैन । साथीभाइको सरसहयोग, सापटी, यताउता गरेर चलेको छ ।’

कुनै दीर्घरोग नभएकी शोभालाई मृत्युको मुखमा पुर्याएको कोरोनालाई सामान्य नठान्न लोकेन्द्रले सबैलाई सुझाव दिन्छन् ।

लोकेन्द्रका साढे २ वर्षका छोरा पनि छन् । अहिले कोभिडसँग जुध्दै छोरी पाएपछि लोकेन्द्रको परिवार हर्षित छ तर सन्तान प्राप्त र कोभिड उपचारको लागि उनको खर्च करोडभन्दा माथि पुगेको छ । श्रीमती पूर्णस्वस्थ नभए पनि अहिले घरमा राम्रोसँग बसेको र सामान्य काम सबै गर्नसक्ने भएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *