नेपालको नामै लिएर राहुल गान्धीले भने : गणतन्त्र दिवसमा विदेशी पाहुना नबोलाएर मोदीले गल्ती गरे
नयाँदिल्ली । भारतीय कांग्रेस आईका नेता तथा सांसद राहुल गान्धीले बुधबार त्यहाँको लोकसभामा दिएको अभिव्यक्तिले चर्चा पाएको छ । उक्त सम्बोधनमा गान्धीले नेपालको नाम पनि उल्लेख गरेका छन् ।
भारतको गणतन्त्र दिवस समारोहमा विदेशी पाहुनालाई नबोलाएर मोदी सरकारले गल्ती गरेको र भारत एक्लिएको तर्क गरेका थिए । ‘भारत पूर्णरुपमा एक्लिएको छ र घेरिएको छ । हामी नेपाल, पाकिस्तान, अफगानिस्तान र चीनबाट घेरिएका छौं’ गान्धीले भनेका छन्, ‘चिनियाँहरु के चाहन्छन्, त्यो स्पष्ट छ ।’
गान्धीले मोदी प्रशासनको विदेश नीति र रणनीति नै गलत रहेको समेत तर्क गरेका थिए ।
Ask yourselves why you are not able to get a guest on Republic Day. Today India is completely isolated & surrounded. We are surrounded in Sri Lanka, Nepal, Burma, Pakistan, Afghanistan, China. Everywhere we are surrounded. Our opponents understand our position: Rahul Gandhi in LS pic.twitter.com/CS5xH5rFwu
— ANI (@ANI) February 2, 2022
चीन र पाकिस्तानलाई अलग राख्नु भारतको लक्ष्य रहिआएको बताउँदै गान्धीले भारतले ती मुलुकलाई झनै नजिक ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘हामीअघिको शक्तिलाई नजरअन्दाज नगर्न मेरो आग्रह छ’ उनले भनेका छन् ।
मोदी सरकारको नीतिले मुलुकलाई ठूलो बेरोजगारी संकटतर्फ लगेको उल्लेख गर्दै उनले राज्य र संस्थालाई आक्रमण गरेको समेत बताए । गान्धीको उक्त अभिव्यक्तिलाई लिएर सत्तारुढ बीजेपीले भने चर्को विरोध गरेको छ ।
कोरोनाको तेस्रो लहरअघि भारतले गणतन्त्र दिवसमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि निम्तो दिने चर्चा थियो । तर, कोभिड संक्रमण बढेपछि भने त्यस्तो हुन सकेन । देउवा भाइब्रेन्ट गुजरात समिटमा जाने भनिएपनि कोभिड संक्रमण बढेकाले गुजरातले उक्त समिट स्थगित गरेको थियो ।