मन्त्री यादवलाई बोलाएर आयोगले भन्यो- उत्तेजनापूर्ण अभिव्यक्ति नदिनू
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ । मन्त्री यादवले जनमत पार्टीका नेता सीके राउतमाथि धावा बोल्दै अर्को गौर नरसंहार मच्चाउने अभिव्यक्ति दिएकी थिइन् ।
आज उनलाई हरिहरभवनस्थित कार्यालय बोलाएर माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा उनले दिएको अभिव्यक्ति एवम् त्यसबाट सिर्जित अवस्थाप्रति आयोगले त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्री यादवले श्रद्धाञ्जलीसभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरिन् । उनले हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको पनि बताईन ।
‘आयोगका अध्यक्ष तथा सदस्यले मन्त्रीजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल् पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो ।’ आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
जिम्मेवार पदमा रहेका व्यक्तिले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खलबलिन सक्नेतर्फ ध्यान दिनुपर्ने आयोगको जोड छ ।