भारतीय सुटरलाई सुपारी दिएर हत्या गर्न खोजिएको भन्दै व्यवसायीले गुहारे प्रहरी – Nepal Press

भारतीय सुटरलाई सुपारी दिएर हत्या गर्न खोजिएको भन्दै व्यवसायीले गुहारे प्रहरी

काठमाडौं । सर्लाहीको हरिवन निवासी एक व्यवसायीले जग्गासम्बन्धी विवादमा सन्धियारले आफ्नो हत्या गर्न खोजेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । हत्याका लागि तीन भारतीयलाई ‘सुपारी’ दिएर नेपाल झिकाइएको उनको दावी छ ।

व्यवसायी अर्जुन रायमाझीले सन्धियार विश्वराज पोखरेलमाथि यस्तो आरोप लगाएका हुन् । उनले पोखरेलसहित ८ जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । आरोपी पोखरेल बाग्मती नगरपालिकाका लेखा अधिकृत हुन् ।

रायमाझीका अनुसार महेन्द्र राजमार्गमा जोडिएको उनको १३ कठ्ठा जमिनमध्ये ८ कठ्ठा आफ्नो भएको दावी गर्दै पोखरेलले भोगचलन गरिरहेका थिए ।

‘उहाँको जग्गा मेरो जग्गासँग जोडिएको छ, तर राजमार्गसँग जोडिएको जग्गा उहाँले आफ्नो भनेर प्रयोग गरिरहनु भएको थियो । यहीविरुद्ध मैले अदालतमा मुद्धा हालेको थिँए । मुद्धाको छिनोफानो अन्तिम चरणमा पुगेको छ,’ रायमाझीले भने।

असोज २५ गते बिहान ‘मर्निङ वाक’ गरिरहेका बेला भारतीय मुलका चार जनाले कालो सिसा भएको गाडीमा चढेर आफ्नो पिछा गरेको रायमाझीले बताए ।

‘हामी बिहान दैनिक साढे ४ बजेदेखि ६ बजेसम्म मर्निङ वाक गर्छौं । उनीहरु साढे ५ बजे बाटोमा कुरिरहेका थिए । तर म समूहमा भएकाले उनीहरु सफल भएनन् । अर्को दिन पनि पिछा गरेर सफल नभएपछि उनीहरु भारत फर्किएछन्,’ रायमाझीले भने ।

भारत फर्किएका सुटरलाई एक-एकवटा मोटरसाइकल किनिदिएर पोखरेलले फेरी बोलाउन खोजेको उनको आशंका छ ।
रायमाझीले दसैंलगत्तै आफु धार्मिक भ्रमणका क्रममा भारत गएको र फर्किएर आउँदा आफुलाई मार्न खोज्ने गिरोहकै एक सदस्यले आएर भेट्दै योजनाबारे बेलिविस्तार लगाएको बताए ।

‘उनी सबै कुरा बुझेपछि मलाई नमार्ने निस्कर्ष निकालेर भेट्न आएका रहेछन् । उनले सबै कुरा सुनाए । नपत्याएर मैले सुटरसँग उनलाई कुरा गर्न लगाएँ । कुरा सुन्दा आफै झसङ्ग भएँ,’ रायमाझीले भने । तर घटनाबारे आफुले थाहा पाएपछि भारतीय सुटर त्यहाँबाट भागेको उनले बताए ।

अदालतले पुस २२ गते पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सर्लाही प्रहरी प्रमुख कृष्ण प्रसाईले ज्यान मार्ने आपराधिक षड्यन्त्र कसुरमा मुद्धा दर्ता भई अभियुक्तहरुको खोजी भइरहेको जानकारी दिए ।

‘हामी उनीहरुलाई खोजिरहेका छौं’ एसपी प्रसाईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *