म्यानपावर सञ्चालक भन्छन् : युट्यूवर पिटिएको थाहै पाएनौं, क्षतिपूर्ति दिन तयार छौं – Nepal Press

म्यानपावर सञ्चालक भन्छन् : युट्यूवर पिटिएको थाहै पाएनौं, क्षतिपूर्ति दिन तयार छौं

काठमाडौं । काठमाडौंको सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावर कम्पनीले भिजिट भिसामा युएई पठाएका विभिन्न जिल्लाका १२ जना युवालाई अलपत्र अवस्थामा छन् । यसै विषयमा ताकेता गर्न आएका युट्यूवर र अभियन्ताहरुलाई म्यानपावरका मानिसहरुले कुटपिट गरेका थिए ।

पीडितका आफन्तले बताएअनुसार युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा आम्र्स गार्ड सेक्युरिटीमा रोजगारी लगाइदिने भनेर उनीहरुलाई नेपालबाट पठाइएको थियो । ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिले विदेश गएका युवाबाट प्रतिव्यक्ति ७ लाख ५० हजारका दरले रकम असुलेको उनीहरुले जानकारी दिएका छन् ।

भिजिट भिसामा युएई जानेमा तनहुँका राजिव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र राजेशजंग शाह, रुपन्देहीका चन्द्रबहादुर विक, कञ्चनपुरका अर्जुन तामाङ, पर्साका रोशनजंग पाण्डे, नुवाकोटका प्रताप तामाङ, मोरङका चिरायु सरदार, सुर्खेतका झक बहादुर थापा, डडेल्धुराका शिवराज पन्त र संखुवासभाका सन्तोष चौलागाई रहेका छन् । उनीहरुले ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालीका सञ्चालक हिराकाजी गुरुङ, कम्पनीकै कर्मचारी रुद्रबहादुर राना, गणेश पराजुली (नविन) यामबहादुर गुरुङ र बिरु गुरुङलाई पैसा बुझाएका थिए ।

यो पनि हेर्नुस् :

म्यानपावरको अफिसमा यूट्युवर र ज्ञानेन्द्र शाहीका कार्यकर्तामाथि यसरी भयो आक्रमण

गत कात्तिक १५ गते काठमाडौंबाट १२ युवालाई ‘भिजिट भिसा’ थमाएरस युएईको आजमान भन्ने स्थानमा पुर्याइएको थियो । तर, त्यहाँ उनीहरुलाई कुनै काम दिइएन । खान–बस्नको व्यवस्थासमेत नभएपछि अलपत्र बनेका उनीहरुको उद्दारका लागि केही दिनदेखि आफन्तहरु म्यानपावर कम्पनीको कार्यालय धाइरहेका थिए । तर, सुनुवाई नभएपछि मंगलबार केही युट्यूवर र अभियन्ताहरु पिडित म्यानपावर कम्पनीको कार्यालयमा पुगेका थिए । त्यसक्रममा म्यानपावरका मानिसहरुले युट्युवरमाथि आक्रमण गरेका हुन् ।

आफूहरुमाथि गुण्डासमेत परिचालन गरेर म्यानपावर सञ्चालकले आक्रमण गरेको युट्यूवरले बताएका छन् । तर, म्यानपावर कम्पनीका सञ्चालक भने उक्त घटनाबारे केही पत्तो नभएको दाबी गर्छन् । साथै आफूहरुले कसैलाई पनि भिजिट भिसामा वैदेशिक रोजगारीका लागि नपठाएको उनीहरुको दावी छ ।

मंगलबारको घटना र पिडितको आरोपबारे दुई म्यानपावर कम्पनीका सञ्चालकको भनाइ जस्ताको त्यस्तै ।

सरोजकुमार लामा 

जुन घटना भयो त्यसप्रति हामी एकदमै दुखी छौं । मैले पनि घटना भएको दिन दिउँसो १ बजे मात्र थाहा पाएको हो । त्यस दिन बिहान म व्यक्तिगत कामले बाहिर गएको थिएँ । मेरो कार्यालयका कर्मचारीले केही मिडियाका साथीहरु आउनुभएको छ, तपाईंलाई कुरेर बस्नुभएको छ भनेर जानकारी गराउनुभएको थियो । त्यसपछि कार्यालय गएँ ।

म त्यहाँ पुग्दा सुरक्षाकर्मी, कार्यालयका कर्मचारी मात्र थिए । महाराजगञ्जबाट डीएसपी सापको नेतृत्वको टोली कार्यालयमा आएको रहेछ । मैले पीडित साथीहरुलाई देखिनँ । घाइते साथीहरुलाई पनि भेटिनँ ।

जताततै म्यानपावर कम्पनीका सञ्चालकले कुटपिट गरेको भनेर आइरहेको छ । यसमा मेरो असहमति छ । मैले बुझेअनुसार कुनै पनि म्यानपावर व्यवसायीले युटुवर साथीहरुमाथी कुटपिट गर्नुभएको छैन । मैले दुई–चारजना म्यानपावर व्यवसायी साथीहरुसँग बुझ्दा हप्ता १० दिनअघि कुटाई खाने युट्युवर साथीहरु र अभियन्ताले चक्रपथ क्षेत्रमा एउटा म्यानपावर कम्पनीमा छिरेर हुलदंगा गर्दै सञ्चालकलाई पिटेको र उफ्रीउफ्री त्यहाँका सामान फुटाएको बुझियो । मैले भिडियो पनि पाएको छु ।

मलाई घटनामा त्यही म्यानपावर कम्पनीका नजिकका व्यक्तिहरुको संलग्ता छ कि भन्ने शंका लागेको छ । मेरो कार्यालयमा भएको घटनाको जिम्मेवारी लिन्न भन्न त मिल्दैन । तर हाम्रो कार्यालयको आँगनमा कोही पीडित, युट्युवर तथा अभियन्ता आउदैँछन् भनेपछि कम्तिमा हामीलाई पनि जानकारी पाउनु पथ्र्यो नि ।

यो घटनाका बारेमा कानुनी हिसाबमा अनुसन्धान गर्ने निकाय छन् । हामी ती निकायलाई सहयोग गर्न तयार छौ । जोसुकैबाट भए पनि यस्तो खालको अप्रिय घटना हुनु हुँदैन । कानूनको पालना मैले पनि गर्नुपर्छ । मैले पनि कानुनको रक्षा गरेर सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । दुखद् घटनामा घाइते भएका साथीहरुलाई व्यक्तिगत रुपमा भए पनि सहयोग गर्न चाहन्छु । जे–जति क्षतिपूर्ति दिनुपर्ने हो, उहाँहरुको उपचार खर्चमा सहयोग गर्नेछु र गर्नेछौं । उपचार खर्च र फुटेका क्यामेरा तथा हराएका सामग्रीका क्षतिपूर्ति दिलाउन पहल गर्नेछु ।

अर्को कुरा, मेरो म्यानपावर कम्पनीमार्फत कोही व्यक्ति पनि भिजिट भिसामा गएको छैन र पठाइएको छैन । कोही व्यक्तिले ट्रिपल स्टारको नाम लिएर भिजिट भिसामा गएको छ भने त्यसमा संलग्न व्यक्तिमाथी कारवाही गर्नका लागि म साथ दिन तयार छु ।

यमबहादुर गुरुङ

जुन घटना भयो त्यसका लागि हामी दुखी छौ । अर्को कुरा यो घटना कसरी भयो । कसले सृजना गरायो, को मार्फत हातपात भयो, यो विषयमा म वास्तवमा अनविज्ञ नै छु ।

हामी सञ्चालक सबै बाहिर थियौं । ११ देखि १२ बजे भित्र घटना भएको छ । हामी कार्यालयमा पुग्दा घटना सामसुम भइसकेको थियो । मैले कार्यालयमा एक बजे पुगेपछि मात्र घटनाबारे थाहा पाएँ । त्यहाँ हामी पुग्दा पिटाइ खाने र पिट्ने मान्छे कोही पनि थिएन । त्यसपछि मैले सञ्चालक हरिकाजी गुरुङलाई बसपार्क लगिएको जानकारी पाएँ । म पनि त्यहाँ पुगँे । पछि महाराजगञ्जबाट डीएसपी सापको नेतृत्वको प्रहरी टोली हाम्रो कार्यालयमा आयो । हामी पनि बसपार्कको प्रहरी कार्यालयबाट हाम्रो कार्यालयमा आयौ ।

यस घटनामा म गैरजिम्मेवार हुन खोजेको भने छैन । सञ्चालक भएपछि, हाम्रै कार्यालयमा घटना भएपछि हामीले जिम्मेवार त लिनैपर्छ । अर्को कुरा, हाम्रो कार्यालयमा पीडित पनि आउनुभएको भनेर युट्यूवर र अभियन्ता साथीहरुले भनिरहनुभएको छ । तर, कार्यालयको सञ्चालकलगायत हामी कोहीसँग पनि पीडित, यट्यूवर, अभियन्ता कसेको पनि त्यो दिनमा सम्पर्क भएको छैन ।

उहाँहरु को पत्रकार हो, को युट्यूवर हो हामीलाई थाहा छैन । हामीलाई खबर गरेको भए हामी थाहा पाउथ्यौं होला । पीडित कतिपय सम्पर्कमा थिए । तर त्यो घटना हुने दिनमा को पीडित पुगेका थिए भन्ने हामीलाई जानकारी छैन । मैले जानकारी पाएअनुसार कोही पनि पीडित आएको थिएन । हाम्रो कर्मचारीले पनि भिडियो खिचेका छन्, यो घटना हुनुअघि उनीहरुले के–कस्ता हर्कत गरेका छन् भन्ने । युट्यूवर र अभियन्ता साथीहरुले म्यानपावर कम्पनीले सेटिङमार्फत भिजिट भिसामा पठाएको भन्नुभएको छ त्यो सरासर गलत हो । हामीले कहीँ कतै सेटिङ गरेका छैनौ ।

म्यानपावर कम्पनीले कुनै पनि देशमा भिजिट भिसामा पठाउन पाउँदैन र हामीले कुनै पनि व्यक्तिलाई कुनै पनि देशमा हाम्रो कार्यालयबाट भिजिट भिसामा पठाएका छैनौं । सरकारले हामीलाई भिजिट भिसामा पठाउने अधिकार नदिएको अवस्थामा मैले कसरी पठाउने ?


प्रतिक्रिया

4 thoughts on “म्यानपावर सञ्चालक भन्छन् : युट्यूवर पिटिएको थाहै पाएनौं, क्षतिपूर्ति दिन तयार छौं

  1. पिडितहरुको सम्पुर्ण रकम फिर्ता गराएर अहिलेसम्मको तलब र मानसिक पिडाको क्षतिपूर्ति सहित भविष्यमा कुनै काम गर्न नपाउने गरि लाइसेन्स रद्द गरि २० वर्ष जति खोरमा जाक्नुपर्छ !

  2. पहिला कुट्ने अनि थाहा छैन भन्ने र क्षतिपूर्ति दिन तयार छौ लज्जास्पद कुरा भए न र ? कारबाही त हुनैपर्छ त्रिपल स्टार म्यानपावर लाई र अनुमतिपत्र खारेजी साथै पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ।

  3. यो मेनपावरले ढातेर कुरा गरेको हो यस्ता डाकाहरुलाई karbhai कारबाही हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *