फौजदारी कसुरमा जेल सजाय भोगेका गैरसांसद लामालाई कर्णालीको मन्त्री बनाइँदै, माओवादीभित्रै चर्को आलोचना – Nepal Press

फौजदारी कसुरमा जेल सजाय भोगेका गैरसांसद लामालाई कर्णालीको मन्त्री बनाइँदै, माओवादीभित्रै चर्को आलोचना

सुर्खेत । नेकपा माओवादी केन्द्रले नैतिक पतन देखिने र फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका र पाँच हजार जरिवाना तिरेका छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार उनलाई ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो ।

चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मुर्ति चोरी गरेको आरोपमा लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले मुद्दा दायरगरेपछि अदालतका न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते फैसला सुनाएका थिए । उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो । तर लामाले भने २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको पाइएको छ ।

अधिवक्ता दुर्गा सापकोटाले कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै सार्वजनिक पदमा बहाल हुनु नैतिकताका आधारमा राम्रो नहुने बताए ।
गैरसांसदलाई मन्त्री सिफारिस गरेको भन्दै माओवादी केन्द्रभित्रै चर्को आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर