सी र पुटिनबीच बेइजिङमा भेटवार्ता : युक्रेन संकटमा साथ दिएकोमा चीनलाई रुसको धन्यवाद – Nepal Press

सी र पुटिनबीच बेइजिङमा भेटवार्ता : युक्रेन संकटमा साथ दिएकोमा चीनलाई रुसको धन्यवाद

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अपरान्ह बेइजिङमा भेटवार्ता भएको छ ।

बेइजिङ ओलम्पिकको उद्घाटन सुरु हुनु केही घण्टाअघि दुई नेताबीच भेटवार्ता भएको हो । पश्चिमा मुलुकसँग मस्कोको सम्बन्धलाई लिएर तनाव चुलिएको बेला ओलम्पिकको लागि बेइजिङ आएका पुटिन र राष्ट्रपति सीको भेटवार्ता भएको हो ।

शुक्रबारदेखि सुरु भएको भ्रमणको दौरान पुटिनले युक्रेन र अन्य मुद्दालाई लिएर चर्किएको तनावमा रुसलाई साथ दिने चिनियाँ कदमको प्रशंसा गरे । ‘चीनसँग रुसको सम्बन्ध अभूतपूर्व प्रकृतिको छ र उल्लेखनीय सम्बन्धको राम्रो उदाहरण समेत हो’ टेलिभिजनमा पुटिनले भनेका छन् ।

भेटवार्तामा युक्रेनबाहेक दुई नेताले ब्यापारबारे पनि छलफल गरेका थिए । आफ्नो सुदूरपूर्वी क्षेत्रबाट रुसले १० बिलियन क्युविक मिटर प्राकृतिक ग्याँस आपूर्तिबारे चीनसँग सम्झौता गर्न चाहेको पुटिनले बताएका थिए ।

नेटोमा युक्रेनको सहभागितालाई लिएर रुसले राखेको अडानमा चीनले खुलेरै समर्थन जनाएको छ । रुसले नेटो गठबन्धनमा युक्रेनलाई सहभागिता गराउन नहुने माग पश्चिमा मुलुकसँग राख्दै आएको छ ।

अलजजिराकी संवाददाता कट्रिना यु भन्छिन् ः रुसी मागलाई चीनले समर्थन जनाउनुको अर्थ यो होइन कि, युक्रेनमा आक्रमण हुनुलाई पनि उसले स्वागत गरोस् किनभने किभ पनि चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाको एक सदस्य राष्ट्र हो ।

दुईवर्षपछि राष्ट्रपति सीले पहिलोपटक कुनै विश्व नेतालाई भौतिकरुपमा भेटेका हुन् । ओलम्पिक दौरान उनले २० जना विश्व नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर