ट्रिपल स्टारसहित भिजिट भिसामा कामदार पठाउने म्यानपावरलाई छाड्दिन : श्रममन्त्री – Nepal Press

ट्रिपल स्टारसहित भिजिट भिसामा कामदार पठाउने म्यानपावरलाई छाड्दिन : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसाबाट गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूविरुद्ध सरकार एक्सनमा उत्रिएको बताएका छन् । त्यसको सुरुवात ट्रिपल स्टार म्यानपावर कम्पनीबाट गरेको उनको भनाइ छ ।

भिजिट भिसामा दुबई पठाइएका १२ जना युवाहरु अलपत्र परेपछि उनीहरुका आफन्तसहित युट्यूवर र अभियन्ताहरु मंगलबार ट्रिपल स्टार म्यानपावर पुगेका थिए । त्यहाँ युट्यूवर तथा अभियन्ताहरुमाथि आक्रमण भएपछि प्रहरीले म्यानपावरका सञ्चालकलाई पक्राउ गरेको छ । यस घटनापछि भिजिट भिसाबाट विदेश पठाउने म्यानपावरमाथि कारवाही गर्न मन्त्री तात्तिएका हुन् ।

उनले भने, ‘ट्रिपल स्टार म्यानपावर कम्पनीले १२ जनालाई भिजिट भिसामा पठाएर अलपत्र पारेको खवर पाउनेबित्तिकै मैले सीआइवीमार्फत उक्त म्यानपावरमा छापा हान्न लगाएँ । एक जनालाई सीआईबीले पक्राउ गरेर नियन्त्रणमा पनि लिइसकेको छ ।’

मन्त्री श्रेष्ठले २४ वटा म्यानपावर कम्पनीले भिजिट भिसाका नाममा बैदेशिक रोजगारीमा मान्छेहरु पठाइरहेको आफुले जानकारी पाएको बताए । ती सबै म्यानपावर कम्पनीमा छापा मारिने उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले भने, ‘पछिल्लो एक हप्तामा भिजिट भिसाका विषयमा आएका उजुरी र गुनासोमाथि छाविन गर्छौ । दुई दर्जनजति म्यानपावर कम्पनी यसमा संलग्न रहेको पाइएको छ । वैदेशिक रोजगार विभागबाट कानुनी कारवाही अघि बढाउछौं ।’

मन्त्री श्रेष्ठले कुनै पनि हालतमा भिजिट भिसामा कामदार पठाउने म्यानपावर, कन्सलटेन्सी तथा व्यक्तिलाई कानुनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गरे ।

‘भिजिट भिसाका नाममा गैरकानुनी काम गर्ने कोही पनि मेरो हातबाट उम्किदैन,’ उनले भने ।

युट्यूवर र अभियन्तामाथि म्यानपावर व्यवसायीले आक्रमण गरेको सम्वन्धमा उनले खासै प्रतिक्रिया दिन चाहेनन् । यस घटनाका विषयमा प्रहरीले अनुसन्धान अघि बढाइसकेकाले आफुले यसमा केही नगर्ने उनले बताए ।

श्रेष्ठले भने, ‘कुटपिट भएको विषय हेर्ने हामीले होइन । त्यसमा प्रहरी संलग्न भइसकेको छ । उसैले हेरेर दोषीलाई कानुनी दायरामा ल्याउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर