किसानको समस्या पहिचान र समाधान गर्न मधेस सरकारले बनायो उच्च स्तरीय समिति – Nepal Press

किसानको समस्या पहिचान र समाधान गर्न मधेस सरकारले बनायो उच्च स्तरीय समिति

जनकपुरधाम । किसानको समस्या पहिचान तथा समाधान गर्न मधेस सरकारले उच्च स्तरीय समिति गठन गरेको छ ।

आज बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा मधेसका मन्त्रीहरु शैलेन्द्र साह, ओमप्रकाश शर्मा, भरत साह, शत्रुधन महतो छन् । यस्तै सदस्य सचिवमा कृषि मन्त्रालयकी सचिव ममता सिंहलाई राखिएको छ ।

प्रदेशमा किसानहरुको समस्या पहिचान गरी समाधान गर्न मन्त्रिपरिषद्को बैठकले समिति गठन गरेको मन्त्री यादवले बताए । समिति संयोजक उनले भने– किसानको त धेरै समस्या छ । त्यसको पहिचान गरी समाधानका लागि पहल गर्छौ ।

तराई मधेसका केही दिनदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसानलाई मलखाद समयमा उलब्ध गराउनुपर्ने, पेन्सनको व्यवस्था गर्नुपर्ने, सिंचाई वा कृषि बिल निःशुल्क गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।

समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बिउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था , डुबान–कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारको लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

समितिलाई १५ दिनभित्र अन्तरिम प्रतिवेदन मन्त्री परिषदमा पेश गर्ने समयसीमा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर