रत्यौली खेल्दाखेल्दै शोकाकुल बनेका लिवाङवासी – Nepal Press

रत्यौली खेल्दाखेल्दै शोकाकुल बनेका लिवाङवासी

रुपन्देही । शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा पर्दा प्युठानको गौमुखी गाउँपालिका वडानम्बर ६ मा जिनावाङमा ८ जनाले ज्यान गुमाएपछि गाउँ नै स्तब्ध भएको छ ।

घरमा कतिबेला बेहुली लिएर आउँछन् भनेर कुरेर बसेका घरपरिवार, आफन्तजन र छिमेकीमा घटनाको खबरले गाउँवासीलाई शोकाकुल बनाएको छ । बेहुली लिएर आएको सो जीप बेहुलाको घर आउन करिब १ किमी नजिकमा दुर्घटनामा परेको हो ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो । जीप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा परेको गाडीमै रहेका बेहुलाबेहुली बाँचेका छन् तर सँगै गएका ८ जना आफन्तजनको ज्यान गएको छ । बेहुलीका एउटा हात नै क्षतविक्षत भएको अवस्था छ । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने बेहुलाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् ।

रातिको समयमा भएको सो दुर्घटनामा एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का एउटै परिवारका सदस्य हुन् ।

घटनाको खबर पाएलगत्तै उद्दारमा गएका गाउँपालिका विष्णु गिरीले रातिको समय भएकाले समयमै खबर उद्दार गर्न नसक्दा घाइते २ जनाको मृत्यु भएको बताए । घाइतेलाई लिएर अस्पताल गएका गिरीले पानी परेको, चिफ्लो बाटो अनि रातीको समय भएकाले यस्तो भएको हुनसक्ने आंकलन गरेका छन् ।

त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर,२९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी रहेका छन् ।

दुर्घटनामा परी बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जिसी घाइते भएका छन् ।

गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल पठाइएको र बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाले घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताए । पालिका अध्यक्ष विष्णु गिरीले गौमुखीको जिनावांगमा भएको यो घटनाले सबैलाई स्तब्ध बनाएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर