मेयर शाह पार्टी प्रवेशले कांग्रेस कपिलवस्तुमा विवाद सुरू, देउवा समूहका नेताहरू विरोधमा – Nepal Press

मेयर शाह पार्टी प्रवेशले कांग्रेस कपिलवस्तुमा विवाद सुरू, देउवा समूहका नेताहरू विरोधमा

रूपन्देही । कपिलवस्तुको कृष्णनगरका मेयर रजत प्रताप शाह शनिबार नेपाली कांग्रेस प्रवेश गरेपछि पार्टीभित्र तीव्र विवाद सुरू भएको छ ।

संस्थापन समूहलाई जानकारी नै नदिई उनलाई कोइराला समूहले प्रवेश गराएको भन्दै त्यो समूहका नेताहरू सार्वजनिक रूपमै विरोधमा उत्रिएका छन् ।

स्थानीय तहको निर्वाचनमा टिकट नपाएपछि बागी उठेर विजयी भएका कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउँदा सिनियर नेताको अपमान भएको उनीहरूको आरोप छ । तत्कालीन मधेसी जनअधिकार फोरमबाट टिकट नपाएपछि उनी बागी लडेर नगर प्रमुखमा विजयी भएका थिए ।

नेकपा सरकारमा भएको बेला पार्टी प्रवेशका लागि केन्द्रीय नेताहरूसम्म कुराकानी भएपनि उनको विवादीत छविका कारण रोखिएको बताइन्छ । तत्कालिन समयमा पार्टी प्रवेश सम्भव नभएपछि उनी जसपा प्रवेशको लागि उपेन्द्र यादवलाई समेत भेटेको विशेष स्रोतले बताएको छ ।

पार्टी प्रवेशको विषयमा नेपाली कांग्रेस संघीय क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समितिलाई समेत जानकारी नभएको क्षेत्र नं. ३ का क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले बताए ।

जिल्ला समितिले शाहको घरमै गएर पार्टी प्रवेश गराएपछि ३ नं. क्षेत्रीय सभापति, ३ (ख) प्रदेश सभापति तथा कृष्णनगर नगरसभापतिको हस्ताक्षरमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णनगर नगरपालिका वड़ा नं.८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नमा आएको खबरप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. ३ को गम्भीर ध्यानाकर्षण भएको छ । यसरी क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति ३ (ख) र कृष्णनगर नगरकार्य समितिलाई जानकारी नगराइ व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्तिजनक मात्र नभइ घोर निन्दनीय पनि रहेको छ । सिंगो पार्टी कै प्रतिष्ठामाथि आँच आउने गरी गरिएको यस कार्य समितिको नेपाली कांग्रेस क्षेत्रीय,प्रदेश ३ (ख) र कृष्णनगर नगर समितिले घोर भत्र्सना गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर