प्युठान जीप दुर्घटना: बेहुलीको एउटा हात गुम्यो – Nepal Press

प्युठान जीप दुर्घटना: बेहुलीको एउटा हात गुम्यो

रुपन्देही । सिन्दुर लगाएर नयाँ घरमा घरजम गर्नका लागि माइती पक्षबाट बिदा भएकी नौबहिनी ६ लुङ प्युठानकी रिमा जिसीलाई नयाँ घरमा नपुग्दै ठूलो बज्रपात आइलाग्यो ।

कर्मघर नपुग्दै शनिबार बिहानैको त्रासदीपूर्ण दुर्घटनामा एउटै गाडीमा रहेका ८ जना आफन्त गुमाउनपर्‍याे । बेहुलासँगै उनको ज्यान त बच्यो तर रिमाले दाहिने हात नै गुमाएर अस्पतालमा संघर्ष गरिरहनुपरेको छ ।

गौमुखी-६ लिवाङका दानबहादुर खड्कासँग विवाह गरेकी रिमा शनिबार नै रुपन्देहीको भैरहवा मेडिकल कजेलमा ल्याइएकी छन् । बेहुला खड्का र रिमा दुई जना नै खतरामुक्त रहेपनि टाउको र शरिरमा चोट लागेका बेहुलासँगै हात नै काट्नुपरेको रिमालाई लामैसमय अस्पताल बस्नुपर्ने भएको छ ।

नयाँ बेहुलीलाई घरमा भित्राउन घर नजिकै ल्याएका दानबहादुर पनि यो असैह्य पीडासँगै अस्पतालमा संघर्ष गरिरहेका छन् ।

प्युठान रुपन्देही सम्पर्क मन्चका सचिव प्रदीप जीसीका अनुसार अहिले अन्य घाइतेको पनि यहीँ उपचार भइरहेको छ । अरुको अवस्था सामान्य रहेको जीसीले बताएका छन् । बिहान बेहुलीको हातमा बढी समस्या देखिएकाले उनलाई मात्रै छिटो रिफर गरिए पनि पछि बेहुलालाई ल्याइएको हो ।

जिसीले भने, ‘घाइते बेहुलीको दाहिने हात काटिएको छ अरु अवस्था सामान्य छ, बेहुला र लोकन्तीको अवस्था पनि खतरामुक्त छ सबै बोल्न सक्ने हुनुहुन्छ उहाँहरु ३ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । दुलाहाका भाइ नरेश खड्काको लुम्बिनी सिटी अस्पताल बुटवलमा टाउकोको अप्रेशन भएको छ भने गाडी चालकको छोरीको मर्सी सिटी अस्पताल बुटवलमा खुट्टाको अप्रेशन भएको छ ।’

विवाह सकेर घरतिर आएको जीप शनिबार सवेरै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा प्यूठान गौमुखी–६ लिवाङ बस्ने ४० वर्षीया वसन्त खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन् ।

स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको थियो । जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो ।

१३ जना सवार रहेको सो जीपमा ८ जनाको मृत्यु भएको र ५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

गौमुखी गाउँपालिका विष्णु गिरीले रातीको समय भएकाले समयमै उद्दार गर्न नसक्दा बढी क्षति भएको बताएका छन् । घटनापछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, जनमोर्चा सांसद दुर्गा पौडेल तथा विभिन्न पार्टी र संघसंस्थाहरुले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *