एमसीसी र स्थानीय चुनावको मितिबारे छलफल गर्न ओली बालुवाटार जाँदै


काठमाडौं । एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्पर्क गरेका छन् ।
एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।
अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफललाई अर्थपूर्ण मानिएको छ । ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदैछन् ।
स्थानीय चुनावको मिति घोषणामा ढिलाइ भइरहेकोमा एमालेले संशय व्यक्त गरेको छ । जेठ ५ गतेअघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न ओलीले दबाब दिने भएका छन् ।
चुनावको मिति घोषणा गर्न सत्ता गठबन्बाटै अवरोध झेलिरहेका देउवाले ओलीसँग छलफल गरेर गठबन्धनका घटकहरूलाई समेत दबाबमा पार्न खोजेका छन् ।