प्रचण्ड र माधव नेपालले एमसीसीबारे भ्रम छरे : पौडेल – Nepal Press

प्रचण्ड र माधव नेपालले एमसीसीबारे भ्रम छरे : पौडेल

कास्की । सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसमितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले प्रचण्ड र नेपालका कारण एमसीसी गिजोलिएको बताए ।

‘मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो एमसीसी किन गिजोल्नुभयो ? जनतालाई गलत सूचना दिएर एमसीसीबारे भ्रमित पार्ने काम उहाँहरुबाटै भएको छ’, पौडेलले भने ।

उनले एमसीसीबारे जनतालाई कन्भिन्स गराउनुपर्ने बताए । ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सधै विदेशीको ऋण लिएर हुँदैन । ऋण तिर्न नसक्दा श्रीलंकाको हालत के भएको छ ? त्यसैले एमसीसी अनुदान लिनुपर्छ’, पौडेलले भने ।

उनले एमसीसीबारे अलमल चिरेर गठबन्धन जोगाउनुपर्ने बताए ।

‘भविष्यमा सरकार बनाउनका लागि पनि चुनावमा गठबन्धन गर्नपर्छ । चुनावमा गठबन्धन नगर्ने हो भने कांग्रेसलाई पनि सजिलो छैन’, पौडेलले भने ।

उनले आफू पार्टीभित्र निर्णायक र उत्तर दिने भूमिकामा नरहेको भन्दै चुनावमा पार्टीलाई जिताउने उपाय पदाधिकारीहरुले प्रस्ताव गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर