बालुवाटारमा एमालेका ९ बटमलाइन- १४ सांसद बर्खास्ती सदर वा सभामुखको राजीनामा (भिडिओ) – Nepal Press

बालुवाटारमा एमालेका ९ बटमलाइन- १४ सांसद बर्खास्ती सदर वा सभामुखको राजीनामा (भिडिओ)

९ बुँदामा एमालेले राख्यो सत्तापक्षसँग आफ्नो सरोकार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षले बोलाएको छलफलका लागि बालुवाटारमा गएपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको संवादहीनता तोडिएको छ।

हुन त यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोटमै गएर भेटेका थिए । बालकोटमा देउवा–ओलीबीच एक्लाएक्लै भएको संवादका विषय बाहिर आएका थिएनन् ।

आइतबार सत्ता गठबन्धनको अर्को सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित करिब दुई घण्टा छलफल भएको हो ।

यो संवादलाई एमाले स्वयंले पनि सकरात्मक मानेको छ । ‘अहिले जुन संवाद भएको छ, त्यसलाई हामीले सकरात्मक रुपमा लिएका छौं ,’ बालुवाटार बैठकबारे जानकारी गराउँदै बैठकमा समेत सहभागी एमाले महासचिव शंकर पोखरेलले भने, ‘प्रधानमन्त्रीले पनि यसलाई निरन्तरता दिने कुरा गर्नु भएको छ।’

बालुवाटारमा एमालेले जे राख्यो…

करिब सात महिनापछि बालुवाटारमा छिरेका ओलीले एमालेका अडान सत्तापक्षसँगको संवादका क्रममा राखेका छन् ।

आजको छलफलको एजेन्डामा महत्वपूर्ण ठानिएको एमसीसीबारे एमालेले पहिले सरकार नै स्पष्ट हुनुपर्ने यसअघिको अडानलाई दोहोर्‍याएको छ।

बैठकबारे जानकारी गराउँदै एमाले महासचिव शंकर पोखरेलले एमालेले यसबारे पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने आफ्नो अडान राखेको बताए ।

‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउनुपर्छ भन्ने थियो,’ पोखरेलले संवाददाताहरुसँग भने, ‘प्रचण्डको धारणा प्रतिपक्षले संसद खोलोस् नभए चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा प्रतिपक्षसहति प्रस्ताव गरौं भन्नुभयो ।’

पोखरेलले थपे, ‘प्रधानमन्त्री प्रणालीमा सत्ता पक्षले नै राष्ट्रिय मुद्दाहरुमा अलग–अलग कुरा गर्ने कुरा लोकतान्त्रिक होइन । यो विषयमा सत्ता पक्ष सबैभन्दा पहिले स्पष्ट होस् भन्ने राय हामीले प्रकट गर्यौं ।’

सदन खोल्नुपर्ने बारे सत्ता पक्षले उठाइरहेको आवाजमा पनि एमालेले जवाफ दिएको छ । सबैभन्दा पहिले सभामुखको गल्ती सच्याउनुपर्ने अडान एमालेको छ । ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबारे भएको कमजोरी सच्याउनुपर्‍यो,’ उनले भने, ‘१४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’

सभामुखले गल्ती नसच्याउने हो भने मार्ग प्रशस्त गनुपर्ने कुरा पनि दोहोर्‍याएको छ। ‘सभामुखको भूमिकाका कारण नै हामी प्रतिनिधिसभामा उपस्थित हुन गाह्रो भएको छ,’ पोखरेलले भने, ‘हामीले आफ्नो असहमतिहरु लामो समयदेखि राख्दै आएका छौं । त्यो विषयलाई सत्ता पक्षले हालसम्म पनि सम्बोधन गरेको छैन् । हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहान्छौं हाम्रा मुद्दाहरुलाई सम्बोधन गरोस् । सभामुखबाट भएको कमजोरी सच्याउन काम होस् । गैर सांसदको उपस्थितिमा प्रनिनिधिसभा चल्न सक्दैन । सभामुखले गल्ती नसच्याउने हो भने मार्ग प्रशस्त गर्नुहोस्।’

स्थानीय तहको चुनाव समयमै हुनुपर्छ भन्ने अडान एमालेले जोडका साथ उठाएको पोखरेलले जानकारी दिए। ‘स्थानीय तहको चुनावलाई समयमै गर्नुपर्छ भन्ने अडानलाई हामीले प्रस्तुत गरेका छौं । त्यसमा प्रधानमन्त्रीले सकरात्मक रुपमा सम्बोधन गर्ने कुरा गर्नु भएको छ,’ पोखरेलले भने ।

त्यस्तै एमालेले कोभिड खोप अपचलन भएको विषय पनि बैठकमा उठाएको छ । ‘२४ लाख खोपको अपचलन भएको कुरा आएको छ,’ पोखरेलले भने, ‘सरकार गम्भीर र संवेदनशिल हुनुपर्ने कुरामा नभएकोमा हामीले आपत्ति जनाएका छौं ।’

गौरमा हत्याका बारे मन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि एमालेले आपत्ति जनाएको छ । त्यस्ता मन्त्रीलाई कारबाही गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

अर्थतन्त्र संकटमा परेको भन्दै सरकार त्यसबारे संवेनशील बनोस् भन्ने सुझाव पनि एमालेले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर