पार्टी विभाजनको खतराबारे के भन्छन् कमल थापा पक्षधर पदाधिकारी ? (भिडिओ) – Nepal Press

पार्टी विभाजनको खतराबारे के भन्छन् कमल थापा पक्षधर पदाधिकारी ? (भिडिओ)

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्य गरिरहेका बेला उनका पक्षधर नेताहरुले के गर्लान् भन्ने कौतुहल बढेको छ । राप्रपा महाधिवेशनमा थापा पक्षधर उल्लेख्य संख्यामा पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।

थापाले आफैं आफ्नो नाडी छाम्न आज एउटा भेला आयोजना गरे । भेलामा उनको पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यको उपस्थिति थियो । तर, भेलामा उपस्थित भएकाहरुले पनि आफूले साथ दिनेमा थापा ढुक्क हुन सकेनन् । उनले आफूलाई साथ दिने नदिने विषयमा स्वविवेकले निर्णय गर्न सक्ने बताए ।

भेलामा थापा बाहेक अरु कसैले पनि बोल्न पाएनन् । तर, भेला सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेताहरुले थापाले पार्टी विभाजन नगर्ने दावी गरेका छन् ।

सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पूर्वअध्यक्ष कमल थापा एकताकै पक्षमा रहेको बताए ।

महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको उनले उल्लेख गरे । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो ।

प्रधानले भने, ‘उहाँले पार्टी फुटाउने सोच्नुभएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौ । एकतावद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन् । पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने उनको भनाइ छ ।

महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्वअध्यक्ष थापा पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ । विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढी नै सचेत हुनुपर्छ ।’

महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *