कमल थापाले आज दिएको डेडलाइन आजै सकियो, लिङदेन भन्छन्- विवाद समाधान गर्छौं – Nepal Press

कमल थापाले आज दिएको डेडलाइन आजै सकियो, लिङदेन भन्छन्- विवाद समाधान गर्छौं

काठमाडौं । एकता महाधिवेशन सम्पन्न भएको तीन महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ‘विभाजन’ को संघारमा पुगेको छ । पूर्वअध्यक्ष कमल थापाले आज आफ्नो पक्षको भेला बोलाएर अलग पार्टी गठन गर्न लागेको सन्देश दिए ।

भेलामा थापाले सरकारले स्थानीय चुनावको मिति घोषणा गर्दासम्म आफ्नो मागको सम्वोधन नभएको खण्डमा अर्को विकल्पमा जाने जानकारी दिएका थिए ।

आज बसेको मन्त्रिपरिषदको वैठकले स्थानीय चुनावको मिति घोषणा गरेपश्चात थापाको सो अल्टिमेटम आजै सकिएको छ । तर, थापाको माग पूरा भएको छैन । यसर्थ उनले कुनै पनि क्षण राप्रपाबाट बहिर्गमनको घोषणा गर्न सक्ने आशंका भइरहेका छन् ।

मन्त्रिपरिषदको निर्णयलगत्तै थापाले ट्विट गर्दै स्थानीय चुनाव घोषणाको स्वागत गरेका छन् । यद्यपि, पार्टीको विवादबारे भने केही उल्लेख गरेका छैनन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन थापाले पार्टी विभाजन नगर्नेमा अझै आशावादी देखिन्छन् । आफूसँगको भेटवार्ताका क्रममा थापाले पार्टीका कार्यकता र शुभेच्छुकलाई निराश तुल्याउने गरी कुनै निर्णय नलिने विश्वास दिलाएको उनले बताए । लिङ्देनले गत शनिबार थापालाई बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेर भेट गरेका थिए । उक्त भेटघाट सकारात्मक र सौहार्दपूर्ण भएको उनले बताएका छन् ।

थापाले उठाएको निर्मलनिवासमाथि छानविन गर्नुपर्ने मागका सम्वन्धमा भने लिङ्देन खुलेनन् । सबै विषयहरु आपसी समझदारीमा समाधान गरिने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी :-

पूर्वअध्यक्ष कमल थापाले आज छुट्टै भेला बोलाएर नयाँ पार्टी गठन गर्न लागेको संकेत गर्नुभयो । यसलाई कसरी लिनुभएको छ ?

मलाई त्यस्तो लाग्दैन । हाम्रो कुराकानी भइराखेको छ । सबै कुरा सहमतिमा नै टुंग्याएर पार्टी एकता चाहने कार्यकर्ता तथा शुभेच्छुकलाई निराश हुन नदिने आपसी समझदारी भएको छ । आजको भेला वा वैठकले पार्टी एकतालाई असर गर्दैन भन्ने लाग्छ ।

भेलाले पार्टी एकतालाई असर पुर्याउँदैन भनेर कसरी ढुक्क हुनुहुन्छ ?

नपुर्याउनुपर्ने हो । उहाँले मलाई त्यसै भन्नुभएको छ । त्यही हिसाबले हाम्रो कुराकानी भएको थियो ।

उहाँले उठाउँदै आउनुभएको मागलाई पार्टीले सम्वोधन गर्छ कि गर्दैन त ?

हाम्रो विभिन्न तहमा कुराकानी भइराखेको छ । उहाँसँग फेरि पनि कुराकानी गर्छौं । सम्वोधन कसरी गर्ने भन्ने अनेक बाटोहरु हुन्छन् । तर, हामी समस्या समाधान गर्छौं । हाम्रो पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूको भावना ठेस पुर्याउने कुनै काम हुनेछैन भन्नेमा म विश्वस्त छु ।

अस्ति आफैं गएर भेट्नु भयो । कत्तिको सकारात्मक कुराकानी भएको थियो ?

विल्कुल सकारात्मक छ । उहाँको आजको वैठक पनि पूर्वनिर्धारित थियो । आजको वैठकमा खासै त्यस्तो नकारात्मक कुरा भएको मैले सुनेको छैन ।

उहाँले त स्पष्ट शब्दमा स्थानीय चुनाव घोषणासम्मको डेडलाइन दिनुभएको थियो नि ?

हो । तर, त्यो डेडलाइन त आजै सकियो । चुनावको मिति घोषणा भइसक्यो । यसरी समयसीमा तोकेर कुनै कुराको समाधान हुँदैन । चाँडै हामी बस्छौं । उहाँसँग पनि सल्लाह गर्छौं । मलाई विश्वास छ, नकारात्मक परिणाम आउँदैन ।

पार्टीको महाधिवेशनयता कमल थापाले कुनै पनि वैठकमा भाग लिनुभएको छैन । कुनै कार्यक्रममा आउनुभएको छैन । यसलाई कसरी लिनुभएको छ ?

वैठकमा भाग नलिने अरु पनि नेताहरु हुनुहुन्छ । विस्तारै सबै कुराहरु सहज बन्दै जानेछन् । यसलाई अन्यथारुपमा लिनुपर्दैन । हामी सँधै गम्भीर छौं, उहाँलाई पार्टीभन्दा बाहिर जान नदिनका लागि । पार्टीलाई, शुभेच्छुकलाई र आफू स्वयम्लाई घाटा हुने काम उहाँले गर्नु हुनेछैन ।

पार्टीको वैठक कहिले डाक्नुहुन्छ ?

तत्काल, चाँडोभन्दा चाँडो, यो हप्ताभित्रै पदाधिकारी वैठक बस्नेछौं । कोभिडका कारण केन्द्रीय समितिको पूर्ण वैठक बस्न समय लाग्छ । त्यसैले पहिले पदाधिकारी वैठक बस्छौं । त्यस वैठकले आगामी केन्द्रीय समितिको वैठकबारे निर्णय गर्छ ।

निर्मल निवासमाथि छानविन हुनुपर्ने मागका विषयमा वैठकमा छलफल हुन्छ त ?

कुरा यस्तो छ । हामी मिल्नेतर्फ गइराखेको हुनाले, मिल्ने र मिलाउने अवस्थामा सबै कुरा अगाडि बढिराखेको हुनाले छलफल हुन सक्छ वा सक्दैन भन्ने विषय गौण हुन्छन् । छलफल गर्ने कि नगर्ने भन्ने पनि हामी आपसी समझदारीबाट टुंगो लगाउँछौं ।

कमल थापाले विगतमा गीतालाई छोएर राप्रपा कदापी नफुटाउने कसम खानुभएको थियो । त्यसलाई सम्झिएर पनि कसमले पनि तपाईं पार्टी एकताप्रति आशावादी बन्नुभएको हो ?

कसम त छँदै नै छ । कसम खानुभएको हुँदा त्यो काम गर्नुहुन्न । सँगसँगै उहाँको आफ्र्नै राजनीतिक भविष्यका लागि र पार्टीको कार्यकर्ता शुभेच्छुकको चाहना इच्छाविपरित गलत काम गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर