सभामुखलाई महाअभियोग लगाउन एक सय सांसद स्ट्याण्डबाई छन् : महेश बस्नेत (भिडिओ‌) – Nepal Press

सभामुखलाई महाअभियोग लगाउन एक सय सांसद स्ट्याण्डबाई छन् : महेश बस्नेत (भिडिओ‌)

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन् ।

उनले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पु¥याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे ।

उनले बुद्धिजीविहरुले पनि महाअभियोग लगाएर सेफ ल्याण्डिङ गराउने कुरा राखेको बताएका छन् ।

पार्टीले कारवाही गरेका १४ जनाको कारवाही सदर नभएसम्म संसदको अवरोध जारी नै रहने नेता बस्नेतले बताए ।

संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको बिरोध स्वभाविक रहने स्पष्ट पारे ।

उनले भने, ‘एमालेले सभामुख ज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीविहरुको सुझाव पनि छ । अस्ति एउटा कार्यक्रममा डा. मिनेन्द्र रिजाल र म सँगै थियौँ, युवासंघको कार्यक्रममा । उहाँले पनि त्यो भन्नुभयो । एमालेले महाअभियोगको प्रस्ताव दर्ता गरोस्, पास वा फेल हुने एउटा कुरा भयो । त्यसपछि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्ने पनि आएको छ । त्यो बारेमा नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय गरिसकेको छैन । त्यसैले यो नै हुनसक्छ भन्न म सक्दिन तर एउटा विषय त्यो पनि हुनसक्छ । सभामुख ज्यूलाई महाअभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ उहाँको कारणले । तयारी गर्नै पर्दैन, हामी १०० जना स्ट्याण्डबाई छौँ, जुन बेला पनि सही गर्न तयार नै छौँ ।’

सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताएका छन् । उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताए ।

प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको उनले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक क्षमतामाथि प्रश्न उठेको बताए । बस्नेतले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाए ।

बस्नेतले राज्य शक्तिको दुरुपयोग गर्नेहरुलाई कानूनि कारबाही गर्नुपर्ने बताए । उनले नेकपा एमाले एमसीसीका बारेमा स्पष्ट रहेको र सरकारको धारणापछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने स्पष्ट पारे ।

सांसद बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने उल्लेख गर्दै बस्नेतले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यक्ताका आधारमा तालमेल गर्न सक्ने बताए । सांसद बस्नेतले माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रका बारेमा प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको औंल्याए ।

सांसद बस्नेतले माओवादी केन्द्रका केही नेताहरुले कानूनि रुपमा चुनौति दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्रमा लाग्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर