अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ) – Nepal Press

अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मौजुदा कानूनअनुसार २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता गुरुङले वैशाखमा निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था रहेको भन्दै उनले कानून संशोधनको कुरा उठाएका हुन् । सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उनो धारणा छ ।

उनले भने, ‘तीन चरणमा भएको चुनावमध्येमा पहिलो चरणकोलाई कार्याविधि सुरु भएको मानिएको छ । त्यो समयलाई मान्ने हो भने जेठको ५ गते कार्यवधि समाप्त हुन्छ । ऐनअनुसार त चैतको ५ गते अगाडि निर्वाचन गरिसक्नुपर्छ । चैतको ५ गतेभन्दा अगाडी निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था यथावत रहँदासम्म चैतको ५ गतेदेखि जेठको ५ गतेको बिचमा ऐनले परिकल्पना गरेको देखिँदैन ।’

नेता गुरुङले संविधानले कार्यावधि समाप्त भएपछि ६ महिनाभित्र र ऐनले दुई महिना अगाडि निर्वाचन गर्ने भनेकाले संविधानसँग बाझिएका ऐनहरू खारेज गर्नुपर्ने बताए ।

‘ऐन संशोधन गर्न सकिएन भने संविधानको प्रावधानअनुसार संविधान र ऐन बाझिएको अवस्थामा संविधान प्रभावकारी हुन्छ भनेको छ । बाझिएको हदसम्म ऐन निस्क्रिय हुन्छ भन्ने व्याख्या छ’, गुरुङले भने, ‘ऐन र संविधान बाझिएको छ भने हामीले संविधानमै टेक्नुपर्‍यो । संविधानमै टेकेर सरकारका निर्णय गर्दाखेरी वैधानिक रुपमा कम विवादित होला कि ? भन्ने पाँच दलको गठबन्धनले सुझाव त दिएको थियो । सरकारले बैशाख ३० गते गरेको हुनाले पक्कैपनि कानूनीरूपले परिपक्व ढंगले नै गर्‍या हुनुपर्छ भन्ने लाग्छ ।’

नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने उनले पुन: दोहोर्‍याए ।


प्रतिक्रिया

One thought on “अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ)

  1. गाेरू पढाइ भएकाले बाेल्ने यस्तै हाे । कस्काे दलाली गर्नुपर्ने हाे कुन्नी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर