प्रचण्ड कमरेड, दाउपेचले क्रान्ति सफल हुन्छ र ! – Nepal Press
विचार

प्रचण्ड कमरेड, दाउपेचले क्रान्ति सफल हुन्छ र !

हुन त प्रचण्डमाथि प्रश्न उठाउने जो–कोहीलाई प्रतिगामी र क्रान्तिविरोधी करार गर्छन्, माओवादी कार्यकर्ता । तर कुनैबेला राज्य व्यवस्था नै परिवर्तन गर्न युद्ध चलाएका ‘क्रान्ति नायक’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तिकडम र दाउपेचको पर्याय बनेको सत्य कतै छिपेको छैन ।

प्रचण्डको पछि लागेर नयाँ संसार निर्माण गर्ने सपनाका साथ युद्ध लडेका हजारौं युवा अहिले जालझेलयुक्त राजनीतिको कोठरीमा कजिनु परेको निर्मम सत्य छ ।

अस्ति एउटा भाषणमा प्रचण्डले ‘हामीलाई जनताले किन पत्याउन छाडे ?’ भनेर आत्मग्लानीसँगै निरीहत प्रस्तुत गरे । हो, उहाँले आफ्नो वास्तविक समस्या पहिचान गर्नु भएकै हो । उहाँलाई जनताले पत्याउन छाडेकै हुन् । तर, त्यसको कारण पनि प्रचण्डले पत्ता लगाउनै पर्छ । वास्तवमा ती सबै समस्या जड प्रचण्ड स्वयम् नै हुन् ।

पार्टीभित्र फरक विचार राख्नेलाई टिक्नै नदिने उहाँको स्वभाव निकै घातक छ । व्यक्तिगतरुपमा अतिमहत्वाकांक्षी स्वभावका प्रचण्डले आफूअनुकल जे पनि गर्ने कुरा प्रष्ट नै छ । जुन बानीका कारण उनी दिनप्रतिदिन उदाङ्गो हुँदै गइरहेका छन् ।

कमरेड प्रचण्ड,

तपाईं दुईवटा खेल संगै खेल्न चाहनुहुन्छ, जुन सम्भव थिएन र कहिल्यै हुने छैन । संसदीय राजनीतिका माहिर खेलाडी भएर सत्ता, शक्तिको केन्द्रमा बस्ने चाहना र पार्टीमा आफ्नो पक्कडलाई दरिलो बनाइराख्न क्रान्तिकारी कुराका दाउपेच संगसंगै लान खोज्नु भएको छ । ती दुवैमा तपाईं असफल हुनुभयो, जसकारण तपाईं तिकडम र षडयन्त्रको सहारा लिन बाध्य हुनुभएको छ । फलस्वरूप अस्थिर, दोधारे, खाओबादी, आत्मकेन्द्रित जस्ता उपनामले चिनिँदै जानुभएको छ ।

तपाईंका व्यक्तिगत कुण्ठा र पदको लालचलाई पूरा हुन नदिएका ओलीविरुद्ध खडा गरिएको र नेपाली कांग्रेसले समेत अनौठो र अप्राकृतिक मानेको गठबन्धन जोगाउन देशको भविष्यसंग जोडिएको विषयमा विदेशीसंग सौदाबाजी गर्न तयार हुने तपाईंको नियत छताछुल्ल नै भएको छ ।

पछिल्लोपटक तपाईंको आत्मकेन्द्रित तिकडमको पर्दाफास एमसीसीलाई लेख्नुभएको तर लेखेको छैन भनेर ढाँटेको चिठीले गरिदियो । त्यो चिठीभन्दा पनि खतरनाक त आफ्नो बचाउ गर्न तपाईंले अघि सार्नु भएको तर्क देखियो । ‘गठबन्धनलाई सुरक्षित राख्न चिठी लेख्नु परेको हो’ भन्नु भएछ । यो कति तल्लोस्तरको लाजमर्दो तर्क हो कमरेड ?

तपाईंका व्यक्तिगत कुण्ठा र पदको लालचलाई पूरा हुन नदिएका ओलीविरुद्ध खडा गरिएको र नेपाली कांग्रेसले समेत अनौठो र अप्राकृतिक मानेको गठबन्धन जोगाउन देशको भविष्यसंग जोडिएको विषयमा विदेशीसंग सौदाबाजी गर्न तयार हुने तपाईंको नियत छताछुल्ल नै भएको छ ।

एमसीसीले देशलाई राम्रो गर्ला–नगर्ला त्यसमा बहस हुँदै जाला । त्यसलाई संसदले नै निकास देला । तर गठबन्धन जोगाउनैका लागि जनतालाई गुमराहमा राखेर देशकै तर्फबाट एक पूर्वप्रधानमन्त्रीको हैसियतले चिठी लेख्नु भएको हो भने, तपाईं आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्नुहुन्छ भन्ने प्रष्ट हुन्छ । यसबारे तपाईंमाथि छानबिन हुन जरुरी छ, यसको नेपाली जनाताले छानबिन गर्न पाउनुपर्छ ।

चिठी पनि अनौठोको लेख्नु भएछ । एमसीसी पास गराउन हामीलाई केही समय चाहिने भयो भनेर मात्रै लेख्नु भएको भए पनि हुने थियो नि ! ‘कार्यकर्ताले मानेनन्, सभामुखलाई मनाउनु छ, देशव्यापी प्रचार गरेर जनसमर्थन जुटाउनु छ’ जस्ता अत्यन्त आन्तरिक कुरा लेखेर उदाङ्गो हुनु भएछ । न त्यसबारे पार्टीमा छलफल गर्नुभयो, न कसैलाई सोध्नुभयो । आफैं सर्बेसर्बा जसरी लेखिदिनु भएछ । तपाईंले त गुपचुपमा तिकडम गर्ने परम्परालाई निरन्तरता दिनुभयो । तर कूटनीति त्यसरी चल्दैन कमरेड !

उता एमसीसीका पधाधिकारीहरु धेरै अध्ययन गर्छन्, तयारी गर्छन् । आफ्ना गुटका कार्यकर्ता समायोजन गर्न नियुक्त भएका हुँदैनन् । तपाईंले भेटेकी एमसीसीकी फातिमा सुमार पनि विश्वविद्यालयकी प्राध्यापक हुन् ।

यससँगै तपाईंलाई अब दुईवटा कुराले नराम्ररी गाँज्नेछ । पहिलो, देशको प्रधानमन्त्री संगै एउटा पूर्वप्रधानमन्त्रीले कुनै हालतमा पास गराउँछु भनेर लेखिसकेपछि अब एमसीसीको विरुद्धमा जान तपार्इंलाई नैतिकताले दिँदैन । के कुनै देशसंगको पत्राचार ख्यालख्याल ठट्टा हो र ? कम्तिमा आफ्नै पार्टीभित्र त साझा धारणा बनाउन नसक्ने तपाईंले यसमा कसरी राष्ट्रिय सहमति खोज्नुहुन्छ ?

अब पनि एमसीसीको विरुद्धको नाटक गरिरहनुले तपाईंको मात्रै होइन, दुई देशबीचको सम्बन्धमाथि नै प्रश्न उठ्नसक्छ । अति संवेदनशील भूराजनीति भएको नेपालका लागि यस्ता कुरा निकै घातक हुन्छन् ।

यससँगै तपाईंलाई अब दुईवटा कुराले नराम्ररी गाँज्नेछ । पहिलो, देशको प्रधानमन्त्री संगै एउटा पूर्वप्रधानमन्त्रीले कुनै हालतमा पास गराउँछु भनेर लेखिसकेपछि अब एमसीसीको विरुद्धमा जान तपार्इंलाई नैतिकताले दिँदैन । के कुनै देशसंगको पत्राचार ख्यालख्याल ठट्टा हो र ? कम्तिमा आफ्नै पार्टीभित्र त साझा धारणा बनाउन नसक्ने तपाईंले यसमा कसरी राष्ट्रिय सहमति खोज्नुहुन्छ ?

दोस्रो, उता त्यस्तो चिठी लेखेर आफ्नै पार्टीको महाधिवेशनबाट किन त्यसविरुद्धको निर्णय गरियो ? कि त्यो चिठी लेख्नु गल्ती थियो भन्नुपथ्र्यो कि त्यसमा सहमति खोज्नुपथ्र्यो । अब महाधिवेशनले संशोधनबिना पारित गर्न हुँदैन भनेको एमसीसी तपाईंले कसरी पारित गर्नुहुन्छ ? यस्ता दुईजिब्रे तिकडमबाजी तपाईंलाई घाँटीमा अड्किएको हड्डीसरह हुने निश्चित छ ।

यो ढंगको कूटनीतिक लाचारीपन, लापर्बाही र निरीहता नेपालको इतिहासमा सायद पहिलोचोटि भएको हुनु पर्छ । यो घटनाको जिम्मेवार तपाईंको अपारदर्शी र तिकडमवाला राजनीतिक दाउपेच नै हो ।

यो त एउटा उदाहरण मात्रै हो । इतिहासदेखि नै त्यस्ता हर्कतहरु तपाईंकै सहकर्मीहरुले पटक–पटक बाहिर ल्याएकै छन् । यस्तो अवस्थामा अब तपाईंलाई जनताले किन पत्याउने ?

तपाईंलाई जनताले पत्याउन छाड्नुका केही कारण छन्–

पहिलो, तपाईंमा व्याप्त व्यक्तिगत महत्वाकांक्षा नै तपाईंको ठूलो शत्रु हो । एकजना इटालियन दार्शनिक ऐन्थोनियो ग्राम्सीले स्टालिनकालीन कम्युनिस्ट ढर्रा देखेर भनेका थिए– कि जब कम्युनिस्ट पार्टीका नेता नेतृत्वमा अथवा सरकारमा पुग्छन्, उनीहरु आफूलाई नवराजकुमार ठान्छन् । आफू निर्विकल्प देख्छन् र आफूलाई जे ठिक लाग्यो, त्यहीं नै संसार भनेर बुझ्छन् । तपाईं पनि त्यस्तै देखियो । जनयुद्धका बेला ‘क्रान्ति नायक’ हुनुभयो, त्यसपछि सत्तामा पुग्न अनेक गठबन्धन बनाइरहनु भयो ।

पछिल्लो समय त ‘आफूलाइ लेनिन र माओ जस्तै हुँ’ भन्न थाल्नुभएको छ । भर्खरै एक भाषणमा ‘एउटा युगमा प्रचण्ड एउटा मात्रै जन्मिन्छ’ भन्नुभयो । जसरी माओ र लेनिन निर्विकल्प बने, आफू पनि त्यस्तै ठान्नु भएको होला । तर वास्तवमा लेनिन र माओले ‘एक युगमा आफू मात्रै जन्मिन्छौं’ भनेर कहिल्यै भनेनन् । चीनमा हज्जारौं माओ जन्मिएकाले चिनियाँ परिवर्तन भएको भनिन्छ ।

हो, तपाईंको यस्तै आत्मरति र आफैंलाई संसार ठान्ने प्रवृत्तिका कारण जनताले तपाईंलाई पत्याउन छाडेका हुन् ।

दोस्रो, तपाईंसंग देशमा ल्याउनुपर्ने परिवर्तनको कुनै खाका नै रहेनछ । सत्ताको वरिपरि घुम्न थाल्नु भएको १६ वर्ष भयो । गणतन्त्र आएदेखि सबैभन्दा धेरै समय सत्तामा बस्ने माओवादी नै हो । धेरैचोटि मन्त्री हुनेमा पनि माओवादीले नै जितिसक्यो । तर देश र जनताका लागि के गर्नुभयो ? तिकडमबाजी मात्रै गरेर हुन्छ र कमरेड ? खोइ तपाईंसँग देश विकास गर्ने खाका ?

अब कि त तपाईंमा आमुल परिवर्तनको खाँचो छ कि त तपाईंले राजनीतिबाट सन्यास लिँदा नै देश र जनताका लागि फाइदा हुन्छ । यस्तो तिकडमले न तपाईंलाई, न जनतालाई, न त देशलाई नै लाभ हुन्छ ।

तेस्रो, सत्ताको वरिवरि बसे मात्रै पहुँच बढ्छ भन्ने बुर्जवा चिन्तनका कारण सधैं कसै न कसैसँग गठबन्धन गर्नुभयो । फलस्वरूप संगठन, विचार र परिवर्तनका मुद्दालाई जनतामाझ पुर्याउन सक्नुभएन । फेरि पनि अनेकखाले गठबन्धन गरेर चुनाव त जित्नुहोला, तर अब तपाईंबाट जनताले कुनै आश गर्नसक्ने स्थिति रहेन । त्यसैले तपाईंलाई जनताले पत्याउन छाडिसके ।

षडयन्त्र र दाउपेचको राजनीतिले एकचोटि फाइदा होला, तर सधैं त्यस्तो हुँदैन । लुकाएर गरिएका षडयन्त्र त कुनै न कुनै दिन बाहिर आउँछ नै । जनताको मनमा बस्न र देशमा परिवर्तन ल्याउन पारदर्शी नीति, सिद्दान्त र कार्यक्रम चाहिन्छ । त्यो तपाईंसँग छैन ।

अब कि त तपाईंमा आमुल परिवर्तनको खाँचो छ कि त तपाईंले राजनीतिबाट सन्यास लिँदा नै देश र जनताका लागि फाइदा हुन्छ । यस्तो तिकडमले न तपाईंलाई, न जनतालाई, न त देशलाई नै लाभ हुन्छ ।

(डा. पौडेल अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयमा भूराजनीति विषयमा अध्यापन गर्छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *