छाउप्रथा उन्मूलनमा सरकारी प्रयास निस्प्रभावी- प्रशासन गोठ भत्काउने, जनता बनाइरहने
सुर्खेत । पञ्चपूरी नगरपालिका-४ स्थित कर्णबहादुर रोकायाको घरबाट २० मिटर टाढा एउटा सानो कुखुराको खोर बनाइएको छ । कुखुराको खोरमाथि सानो टिनले छाएको एउटा कोठा पनि छ । एक काठको कडीमा सात ओटा साना काठका टुक्रा जोडेर माथिल्लो तलामा जान मिल्ने बनाइएको छ । यसलाई लिस्नु वा भ¥याङ भन्न सकिन्छ । माथिल्लो तलामा जाँदा वरिपरि कुनै बार छैन । यो घर झट्ट हेर्दा कुखुराको लागि बनाइएको हो कि भन्ने लाग्न सक्छ । तर, सत्यता फरक छ । राजस्वला भएको समयमा महिलाहरुलाई छाउ बार्नका लागि बनाइएको घर हो यो । यसलाई आधुनिक छाउ गोठ भन्दा पनि हुन्छ ।
कर्णबहादुर आफैं छाउ विरोधी हुन् । तर, बृद्ध आमाले नमानेपछि उनले सुधारिएको छाउगोठ निर्माण गर्नुपर्ने बाध्यता आइलाग्यो । त्यहीँकै अर्का स्थानीयको बाध्यता पनि त्यस्तै छ । आफ्नो नाम बताउन नचाहेका उनले भने, ‘पहिले भुइँमै सानो गोठ बनाएर बसाल्ने गरिएको थियो । मेरो आमा पनि अहिले गोठमै बस्नुहुन्छ । उहाँलाई जति भने पनि घर बस्नै मान्नु हुन्न । के गर्ने आमाले भनेपछि हामीले मान्नै पर्ने वाध्यता छ,’
यी, उदाहरण मात्र हुन् । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बराहता, चौकुने र पन्चपूरी नगरपालिकामा रहेका अधिकांश जनप्रतिनिधिले समेत छाउ बार्ने गरेका छन् । राज्यले छाउ वार्नु र बार्न बाध्य पार्नुलाई दण्डनीय अपराध भने पनि यो कुसंस्कार नागरिकको मनबाट हट्न सकेको छैन ।
रुढीवादी परम्पराले गिजोलेको कर्णाली तथा सुदुरपश्चिमको एक साझा समस्या हो छाउपडि प्रथा । महिला रजश्वला भएको दिनदेखि कम्तिमा पाँच दिन गोठमा बस्नैपर्ने यो कुरितीले महिलाको अकालमै मृत्युसमेत हुने गरेको छ । कहिले गोठमै निस्सासिएर महिलाको ज्यान गएको समाचार हामी सुन्छौं भने कहिले सर्पले डसेका कारण गोठमा बसेकी महिलाको ज्यान गएको सुन्छौं ।
राज्यले यो प्रथालाई उन्मुलन गर्न नचाहेको पनि होइन । लामो समय देखि सुर्खेतको पश्चिम क्षेत्रमा रहेका छाउगोठहरु भत्काउने अभियान निरन्तर चल्दै आएको छ । केहि महिनाअघि मात्रै सुर्खेतमा तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसमेत पश्चिम सुर्खेत पुगेर छाउगोठ निर्माण गरे वा छाउगोठमा महिलालाई बसालेको पाइए कारवाही गर्ने भन्दै वीरेन्द्रनगर फर्किएका थिए ।
प्राय, कालिकोट, अछाम, दैलेख जिल्लाबाट बसाई सरेर आएकाहरुको त्यहाँ बाक्लो वस्ती छ । यहाँका करिब ५० प्रतिशत भन्दा बढी नागरिक अन्य जिल्लाबाट आएर बसोबास गरिरहेका छन् । उनीहरुले आफ्नो पुर्ख्यौली थलो छाडे पनि कुरितीलाई लाई सँगै लिएर आए । अहिले कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा राज्यलाई छाउगोठ भत्काउन र स्थानीयलाई पुनः निर्माण गर्न जुहारी चलेको देखिन्छ ।
प्रशासन र जनताले छाउगोठबारे लुकामारी खेल्दै आइरहेका छन् । नागरिकहरु प्रशासन जाँदा छाउ नबार्ने भन्छन्, प्रशासन फर्किए लगत्तै रातारात गोठहरु तयार पारिरन्छन् ।
पञ्चपुरी नगरप्रमुख उपेन्द्र थापा आफ्नो नगरक्षेत्रमा छाउगोठमा बस्ने प्रचलन धेरै मात्रामा कम भए पनि समाप्त भने नभएको बताउँछन् । ‘हामी निर्वाचित भएर आइसकेपछि छाउप्रथाका बारेमा जनचेतनामूलक कामहरु गर्दै आएका छौं । गोठमा नबसाल्न भन्दै नागरिकलाई सूचित गराउँदै आइरहेका छौं,’ उनले भने, ‘ती अभियान प्रशासनसँग मिलेर गर्दै आइरहेका छौं । अझ पनि हामी त्यस्ता जनचेतनामूलक अभियान सञ्चालन गरेर छाउप्रथा उन्मुलनमा होमिइरहेका छौं ।’
उनले छाउगोठ भत्काउन मात्रै समस्या समाधान नभएको महसुस भएको बताए । ‘गोठ भत्काएर मात्रै यो समस्या समाधान हुने देखिएन,’ उनले भने, ‘कुसंस्कारका बारेमा जनतालाई सचेतना दिनुको विकल्प नै छैन ।’