पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौं स्मृति दिवस मनाइँदै


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संविधान निर्माणको अगुवाइसमेत गरेका पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।
नेपाली राजनीतिमा निष्ठावान् र सादगी नेताको रूपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।
यसैबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाप्रति श्रद्धा व्यक्त गरेका छन् । कोइरालाले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका आफूहरूका लागि प्रेरणादायी हुने देउवाको भनाइ छ ।