कमल थापापछि गुरुङ र पौडेलले पनि गरे राप्रपा त्यागेको घोषणा – Nepal Press

कमल थापापछि गुरुङ र पौडेलले पनि गरे राप्रपा त्यागेको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल थापा अलग भएसँगै उनका पक्षधर नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम सुरू भएको छ ।

संस्थापक नेताद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पनि राप्रपा छोडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरूले कुनै कारण नखुलाइ पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

गुरुङलले लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।’

पौडेलले राप्रपा छोड्दा दु:खी र भावुक बनेको बताएका छन् ।

उनको स्टाटस यस्तो छ, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दु:खी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । जय होस् ।’

अरु पनि केही नेताहरु राप्रपाबाट अलग्गिने तयारीमा रहेको बुझिएको छ । तर, कमल थापा पक्षधरले सामूहिकरुपमा भने पार्टी छाड्ने छैनन् । यसो गर्दा पार्टी फुटाएको र गीताको कसम तोडेको आरोप लाग्ने भएकाले व्यक्तिगतरुपमा अलग हुने रणनीति अपनाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर