किसानको माग पूरा नभए स्थानीय चुनाव अवरोध गर्ने सीके राउतको चेतावनी – Nepal Press

किसानको माग पूरा नभए स्थानीय चुनाव अवरोध गर्ने सीके राउतको चेतावनी

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभइ स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने जिकिर गरे ।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्‍यो । किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।’

‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ राउतले भने, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरू दौडिरहेका छन् ।’

अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने राउतले बताए । उनका अनुसार मौसम प्रतिकूलका कारण राजमार्गकेन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको हो ।

कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको राउतको आरोप छ । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर