यौन उत्पीडनको घटनामा अष्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी
क्यानबेरा । सन् २०१९ मा आफूलाई संसद भवनकै एक कर्मचारीले यौन शोषण गरेको आरोप लगाएको घटनामा पीडित महिलाप्रति अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले औपचारिकरुपमा माफी मागेका छन् ।
ब्रिटिनी हिगिन्स नामक गरेकी ती महिलाले यौन उत्पीडनको आरोप लगाएपछि अष्ट्रेलियाली संसदमा ‘ब्वाइज क्लब’ संस्कृति लागेकोबारे गम्भीर समीक्षा र बहस सुरु भएको थियो ।
मंगलबार अष्ट्रेलियाली संसदमा यौन उत्पीडन, दुव्र्यवहार र आरोपका अन्य घटनाप्रति प्रधानमन्त्री मरिसनले माफी मागेका हुन् । मरिसनले यसअघि पनि यस घटनाबारे दिएका प्रतिक्रियालाई लिएर आक्रोश व्यक्त भएका छन् ।
दुईजना भूतपूर्व मन्त्रीकी सहयोगी समेत रहेकी हिगिन्स प्रधानमन्त्री मरिसनले संसदमा माफी मागिरहँदा त्यहाँको तल्लो सदनको आगन्तुक कक्षमा बसेर सुनिरहेकी थिइन् ।
‘म माफी चाहन्छु । हामी माफी चाहन्छौं । यहाँ भएको डरलाग्दो घटनाप्रति म श्रीमती हिगिन्सप्रति माफी चाहन्छु । सुरक्षित हुनुपर्ने ठाउँ असुरक्षित हुनु निकै दुःखद छ’ मरिसनले संसदमा भने ।
यौन उत्पीडनका घटनाहरु सार्वजनिक भएपछि विरोधमा आयोजित प्रदर्शनमा हिन्गिसले पनि सहभागिता जनाएकी थिइन् । यौन विभेद मामिला हेर्ने आयुक्त केट जेन्किन्सले गरेको एक अध्ययनमा अष्ट्रेलियाली संसदमा कार्यरत तीनजनामध्ये एक यौन दुव्र्यवहारको शिकार भएको जनाइएको थियो ।
जेन्किन्स नेतृत्वको अध्ययन समितिले ५०० मानिसँग सोधपुछ गरेको थियो भने ३०० भन्दा बढी लिखित उजुरी समेत परेको थियो । मंगलबार प्रधानमन्त्री मरिसनले संसदमा मागेको माफी पनि तिनै अध्ययनपछिको सुझावको एक हिस्सा हो ।
यसैबीच, प्रधानमन्त्रीलाई नधम्क्याउन भन्दै आफूलाई लगातार चेतावनीहरु आइरहेको यौन उत्पीडनको आरोप खेपेकी एक युवतीले बताएकी छिन् । ग्रेस टेम नाम गरेकी ती महिलाले आफूलाई सरकारी लगानीका संस्थाबाट त्यस्तो धम्की आएको बताएकी हुन् ।