पञ्जावमा बीजेपी र कांग्रेसलाई केजरीवालको टक्कर : ‘दिल्ली मोडल’ पछ्याउँदै आप – Nepal Press

पञ्जावमा बीजेपी र कांग्रेसलाई केजरीवालको टक्कर : ‘दिल्ली मोडल’ पछ्याउँदै आप

काठमाडौं । अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले पञ्जावको आगामी विधान सभा चुनावमा भाजपा र कांग्रेस आईलाई टक्कर दिने अनुमान भारतीय संचारमाध्यमले गरेका छन् ।

फेब्रुअरी २० मा हुने चुनावमा आपले चुनाव जित्न दिल्ली मोडललाई पछ्याइरहेको बताइएको छ । भारतीय राजधानी दिल्लीमा समेत सरकार चलाइरहेको आपले पञ्जावमा समेत उम्मेदवारी दिएपछि त्यहाँको राजनीति थप तरंगित बनेको छ ।

कांग्रेसभित्रको अन्तरकलह र बीजेपी नेतृत्वको गठबन्धनमा आएको मतभेदलाई आपले फाइदा उठाउने अनुमान गरिएको छ । कतिपय सर्वेक्षणले आपले बहुमत ल्याउन सक्ने प्रक्षेपण गरिरहेका छन् । दिल्ली मुख्यमन्त्री एवं पार्टी संयोजक केजरीवाल पनि पञ्जाव चुनावलाई प्राथमिकता दिएर अघि बढेका छन् ।

पञ्जावको चुनावी ¥याली र सभा आयोजनामा केजरीवालले दिल्ली मोडेललाई पछ्याएको पनि जनाइएको छ । राजधानी दिल्लीमा आपले भ्रष्टाचार नियन्त्रण र सुशासन, जनतालाई निःशुल्क पानी बिजुली शिक्षा तथा स्वास्थ्य प्रदान गरेको विषयलाई आपले पञ्जाव पनि लागू गर्ने मुद्दा उठाएको छ ।

यसअघिको चुनावमा आपले पञ्जावको ११७ सिटमध्ये २० सिट जितेको थियो । भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेसँग मिलेर सन् २०१२ को नोभेम्बर २६ मा केजरीवालले आप गठन गरेका थिए । सन् २०१३ को डिसेम्बरमा भएको दिल्ली चुनावमा २८ सिट जितेको आपले कांग्रेसको समर्थन लिएर सरकार गठन गरेको थियो ।

बाँकी १० दिनमा समीकरण र परिस्थित छिटो छिटो परिवर्तन भैरहेकाले यसै भन्न नसकिने कतिपय विश्लेषकले बताउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर