रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे सर्वोच्चमा
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । अध्यक्ष मिश्रका साथै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर उनले रिट दायर गरेका हुन् ।
रिट निवेदनमा २७ भदौ २०७८ पश्चात् विवेकशील साझा पार्टीको विधान २०७४ (पहिलो संशोधन) खारेजी, नयाँ विधान २०७८ जारी र केन्द्रीय सदस्यहरूको राजीनामा स्वीकृति तथा केन्द्रीय संयोजक मिलन पाण्डेउपरको कारवाहीको निर्णय बदर गर्न माग गरिएको छ । त्यस पूर्वको विधि, विधान र प्रक्रियाको आधारमा पार्टीलाई सञ्चालन गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको मागसमेत गरिएको छ ।
यस्तै, विवेकशील साझा पार्टीको नाममा रवीन्द्र मिश्रले गरेका निर्णय र प्रस्तुत गरेका दस्तावेजलाई निर्वाचन आयोगले दिएको मान्यतासमेत उत्प्रेषणको आदेशले बदर गर्नुपर्ने रिटमा उल्लेख छ ।
पाण्डेले वरिष्ठ अधिवक्ता, अधिवक्ताहरू, पार्टीका नेताहरू केशव दाहाल, रमेश पौड्याल, प्रवक्ता हरीशप्रसाद भट्टसहित बुधबार सर्वोच्च पुगेर मुद्दा दर्ता गरेका हुन् ।