कमल थापाका लागि पार्टीको ढोका सँधै खुला रहन्छ : राजेन्द्र लिङदेन (भिडिओ) – Nepal Press

कमल थापाका लागि पार्टीको ढोका सँधै खुला रहन्छ : राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाका लागि पार्टीको ढोका सँधै खुल्ला रहने बताएका छन् ।

थापालाई निर्णयमा पुनर्विचार गर्न उनले पुनः आग्रह गरे ।

उनले भने, ‘हामीले औपचारिक रुपमै भनेका छौँ, यो निर्णयबाट हामी दु:खित छौँ । यो निर्णय सच्याउन, पुर्नविचार गर्न आग्रह गर्छौ । उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ । राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ ।’

यद्यपि, थापाको बहिर्गमनले राप्रपालाई कमजोर नबनाउने लिङदेनले दावी गरे । राप्रपा अझै दृढ, संगठित र सशक्तरुपले अगाडि बढ्ने उनको भनाइ छ ।

थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुने उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनाएको छ । यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने चासोको विषय भएपनि हाम्रो आगामी गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’

पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्ने उनले विश्वास व्यक्त गरे ।

‘हामीले सबै साथीहरुलाई आव्हान पनि गरेका छौँ । मलाई के विश्वास छ भने महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नुहुने छैन,’ लिङदेनले भने ।

थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको बताए । छलफलका क्रममा सँगै काम गर्ने समझदारी थापासँग बनेको उनको भनाइ छ ।

‘हामीले सकारात्मक रुपमा कुराकानी गरेका थियौँ । बिचमा जुन प्रकारको ग्याप भएपनि हामीले भेटघाट, कुराकानी गरेपछि एउटा समझदारी बन्यो कि हामी अब सँगै काम गर्ने, त्यसका लागि फेस सेभिङका केही उपायहरु निकाल्ने भनेर हामी टुंगोमा पुगेर त्यसको अन्तिम चरणमा थियौँ । र पदाधिकारी बैठकसमेत बोलाइसकेका थियौँ ।’

‘भोली पदाधिकारी बैठक छ, त्यसले निर्णय गरेर हामी अगाडी जान्छौं भनेर सूचनासमेत उहाँलाई हामीले दिइसकेका थियौँ । हाम्रो उपाध्यक्ष बुद्धिमान तामाङले उहाँलाई बिहान त्यस विषयमा जानकारी पनि गराउनुभएको थियो । तर उहाँले जुन अप्रत्याशित यो निर्णय लिनुभयो हामी आफैँ अचम्भित छौँ ।’

राप्रपा छोड्ने थापाको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *