प्रचण्डलाई शेखरले भने- कम्युनिष्टले कांग्रेसलाई भोट दिँदैनन्, गठबन्धन हुँदैन – Nepal Press

प्रचण्डलाई शेखरले भने- कम्युनिष्टले कांग्रेसलाई भोट दिँदैनन्, गठबन्धन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन हितकर नहुने सुझाव दिएका छन् ।

प्रचण्ड निवास खुमलटारमा आज भएको भेटका क्रममा नेता कोइरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको बताएका हुन् । समसामयिक राजनीतिक विषयमा झण्डै १ घण्टा छलफल गरेका दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका विषयमा छलफल भएको थियो ।

‘स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौं । केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिष्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन’, कोइरालाले प्रचण्डलाई भने ।

भेटमा प्रचण्डले तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने प्रस्ताव गरेका थिए । नेता कोइरालाले भने कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको भन्दै राजनीतिक सहकार्य र चुनावी गठबन्धन फरक कुरा भएको बताएका थिए ।

बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो । कोइरालाले सभामुखले संसद सुचारु गरेर एमसीसी टेबुल गर्नु उपयुक्त हुने बताएका थिए । प्रचण्डले एमसीसीका कारण राजनीति गिजोलिँदै गएको चिन्ता व्यक्त गर्दै संवादबाटै टुंगोमा पुग्ने बताए ।

कांग्रेस नेता कोइरालाले पछिल्लो समय आफ्नो राजनीतिक भेटघाट तीव्र पारेका छन् । कोइरालाले हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर