कांग्रेस कार्यालय गेटबाहिर नेविसंघको प्रदर्शन (तस्बिरहरू)


काठमाडौं । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयअगाडि नेविसंघका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । कार्यसम्पादन समितिका सदस्यहरूबाहेकलाई छिर्न नदिएपछि गेटबाहिरै विरोध प्रदर्शन गरिएको हो ।
म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने साथै रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने नेविसंघको माग छ ।
कांग्रेस विधानको दफा ४२ को उपदफा १ को ङ र दफा ४२ को उपदफा २ को ग मा पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ ।
बुधबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुभन्दा विधानको दफा निलम्बन गरेर अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव गरेका थिए ।
कार्यसम्पादन समिति बैठकस्थल छिर्दै गरेका नेताहरूलाई प्रदर्शनकारी विद्यार्थी तथा नेताहरूले नेविसंघको झण्डा दिएर महाधिवेशनको दबाब दिएका छन् ।