कांग्रेसले भन्यो- सभामुख जिम्मेवारीबाट भाग्न मिल्दैन


काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) सदनमा लैजाने कुरामा सभामुखले आफ्नो पदीय दायित्व निभाउनुपर्ने बताएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकको क्रममा संवाददाताहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस विषयमा संसदले निर्णय लिन पाउनुपर्नेमा जोड दिए ।
‘सभामुखले आफ्नो काम कर्तव्य र दायित्व बुझ्नुपर्छ, पदीय जिम्मेवारीबाट भाग्न मिल्दैन,’ महतले भने, ‘एमसीसीबारे संसदले निर्णय लिन पाउनुपर्छ ।’
बैठकले स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने र भ्रातृ र शुभेच्छुक संस्थाको म्याद सकिएकोबारे छलफल भएको उनले जानकारी दिए ।
गठबन्धन जारी रहन्छ या रहँदैन भन्ने पत्रकारहरुको प्रश्नमा महतले यो विषयमा निर्णय गर्ने बेला अझै नभएको बताए ।
‘गठबन्धनको विषयमा निर्णय गर्ने बेला भएको छैन’, उनले भने, ‘सबै दलले आफ्नो आधारबारे मूल्यांकन गर्लान् । उपयुक्त समयमा निर्णय आउँछ ।’
यसैबीच भोलि २ बजे पुन: बस्ने गरी आजको बैठक सकिएको छ ।