कञ्चनपुरमा वडाध्यक्षलाई विप्लव समूहका कार्यकर्ताले दले कालाेमाेसाे, एमालेद्वारा कारवाही माग – Nepal Press

कञ्चनपुरमा वडाध्यक्षलाई विप्लव समूहका कार्यकर्ताले दले कालाेमाेसाे, एमालेद्वारा कारवाही माग

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनले कञ्चनपुरका एक जनप्रतिनिधिलाई मोसो दलेर दुर्व्यवहार गरेको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिकाका-२ का वडा अध्यक्ष प्रेम खातीलाई मोसो दलिएको हो । विप्लव नेतृत्वको युवा सङ्गठनले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ ।

वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरूलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रूपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफू अनुकूल काम गरेको आरोप उनीहरूले लगाएका छन् ।

उनीहरूले ‘भ्रष्ट वडाध्यक्षलाई जनकारबाही’ गरेको दाबी गरेका छन् । वडाध्यक्ष खातीलाई युवा सङ्गठनका ८/९ जनाले मोसो लगाएका थिए । प्रहरीले एक जनाको पहिचान भइसकेको जनाएको छ ।

कारबाहीको माग

नेकपा एमालेले बेलडाँडी गाउँ कमिटीका उपाध्यक्ष तथा वडा नं २ का वडाध्यक्षमाथि भएको दुर्व्यवहारको भर्सन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्नेहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरेको छ ।

‘यो घृणित र कानुन विपरीतको दण्डनीय कार्य हो,’ गाउँ कमिटी अध्यक्ष लक्ष्मणसिंह भाटद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘घटनामा संलग्न अपराधीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाहीका लागि नेपाल सरकारसँग माग गर्दछौँ ।’

यस्तै एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का जिल्ला अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य कमल रोकायाले पनि घटना प्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर