अमेरिकी नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको आग्रह : रुसले थाल्यो युद्धभ्यास – Nepal Press

अमेरिकी नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको आग्रह : रुसले थाल्यो युद्धभ्यास

युक्रेन पुग्यो अमेरिकी हतियारको दोस्रो खेप

मस्को । रुस र नेटो सेनाबीचको तनाव चुलिएको छ । रुसी सेनाको सम्भावित हस्तक्षेपलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न आग्रह गरेका छन् ।

एनबीसी न्यूजसँग कुरा गर्दै बाइडेनले रुसी र अमेरिकी सेनाबीच कुनैबेला पनि लडाइ सुरु हुन सक्ने चेतावनी दिएका छन् ।

बाइडेनले उक्त अन्तर्वार्तासँग भने, ‘हामी संसारका ठूलो सैनिक शक्तिमध्येको एकसँग टकरावको स्थितीमा छौं । यो बिल्कुुल अलग स्थिती हो । परिस्थिती चाँडै बिग्रन पनि सक्छ । अमेरिकी नागरिक चाँडै युक्रेनबाट निस्कनु जरुरी छ ।’

युक्रेनमा सैनिक पठाउने सवाललाई लिएर बाइडेनले भने, ‘त्यहाँ सेना पठाउनुको अर्थ तेस्रो विश्वयुद्धको सुरुआत हुनु हो ।’

बिहीबार अमेरिकी विदेश विभाग प्रमुखका एक सल्लाहकारले यदि रुसले युक्रेनमाथि हमला गरे अमेरिकाले तत्काल आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने परिस्थिती नहुने बताएका थिए ।

युद्धको सम्भावित खतराबीच रुसले तयारी थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसले बिहीवारदेखि बेलारुसको सेनासँग संयुक्त युद्धभ्यास सुरु गरेको छ । यसलाई यसवर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास भनिएको छ ।

जसमा ट्यांक, लडाकु बिमान र एस-४०० मिसाइल प्रणालीसहित हजारौं सैनिकले भाग लिएका छन् । बेलारुसमा यो अभ्यास फेव्रुअरी २० सम्म चल्ने जनाइएको छ । विवरणअनुसार ३० हजारभन्दा बढी रुसी सेनाले त्यसमा भाग लिनेछन् ।

युद्धको बढ्दो खतराबीच अमेरिकाले युक्रेनलाई हतियारको दोस्रो खेप पठाएको छ । यसअघि अमेरिकाको तर्फबाट २०० मिलियन डलर बराबरको अमेरिकी सुरक्षा सहायता पनि युक्रेन पठाइएको थियो । पूर्वी युरोपमा बढ्दो तनावबीच ८५०० अमेरिकी सैनिक उच्च सतर्कतामा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर