सत्तारुढ गठबन्धनको समन्वय समिति कांग्रेसभन्दा ठूलो होइन : नेता केसी – Nepal Press

सत्तारुढ गठबन्धनको समन्वय समिति कांग्रेसभन्दा ठूलो होइन : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पाँच दलीय सत्तारुढ गठबन्धनको उच्चस्तरीय समन्वय समिति पार्टीभन्दा माथि नभएको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको औचित्यमाथि प्रश्न उठाउँदै नेता केसीले पार्टीभित्र छलफल नभएका र नटुंगिएका विषयमा गठबन्धनको उच्चस्तरीय समितिले निर्णय दिन नसक्ने बताएका हुन् ।

कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता केसीले सत्तारुढ गठबन्धनको समन्वय समिति जे आवश्यकताले बनाइयो त्योभन्दा बढी क्षेत्रमा प्रवेश गर्न नहुने बताएका हुन् । ‘यो उच्चस्तरीय समिति भन्ने जे छ त्यसले गठबन्धनभित्र समन्वय गर्नु ठीकै हो तर पार्टीभित्र छलफल हुनपर्ने विषयमा गठबन्धनको समितिले निर्णय लाद्न हुँदैन’, बैठकमा केसीले भने ।

चुनावी गठबन्धनबारे समन्वय समितिमा भइरहेका छलफलप्रति लक्षित गर्दै नेता केसीले ती विषयमा पहिले पार्टी प्रष्ट हुनुपर्ने बताएका हुन् ।

यसैबीच, पार्टीको हिरक जयन्ती भव्यताका साथ मनाउन समेत नेता केसीले प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बैठकमा नेता केसीले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना २००३ सालमा भएको स्मरण गराउँदै पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा यसैवर्षदेखि २०८० सालसम्म २ वर्षे हिरक जयन्ती विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

‘२०५३ सालमा गिरिजाबाबुले २ वर्षसम्म पार्टीको स्वर्णजयन्तीको कार्यक्रम ल्याउनुभएको थियो । अहिले त्यही प्रकारले २ वर्षसम्म हिरक जयन्ती मनाउने गरी सांगठनिक कार्यक्रमहरु घोषणा गरौं’, बैठकमा केसीले भने ।

बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरु स्वतः भंग हुने विधानको व्यवस्था अशरशः पालना हुनुपर्नेमा केसीले जोड दिएका थिए । ‘सहमतिले विधान परिवर्तन गर्न सकिन्छ तर सहमतिमा विधान तोड्न सकिदैन । भ्रातृ संस्थाहरु म्याद सकिएपछि स्वतः विघटन हुन्छ भनेपछि सकियो । विधानभन्दा दायाँबायाँ नसोचौं’, केसीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर