धुम्रपान छाड्ने शक्तिशाली उपाय नै प्रतिवद्धता
‘हुन्न भेना धुम्रपान गर्नलाई, क्यान्सर लागि पर्ला नि मर्नलाई’ चर्चित लोकगायक शिला आले र बद्री पंगेनीको आवाज रहेको यो गीत निक्कै लोकप्रिय बनेको थियो कुनै समयमा ।
स्वास्थ्य सचेतनाको निम्ति धुम्रपान नगर्न सर्वसाधरणको हितको लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेका यी र यस्ता थुप्रै चेतनामूलक विज्ञापन तथा कार्यक्रम रेडियो, टेलिभिजन, पत्रपत्रिकामा हेर्न, सुन्न, पढ्न नपाइएका होइनन् । तर व्यवहारमा परिवर्तन ल्याउन नसक्दा धुम्रपानको कारणले उत्पन्न हुने विभिन्न २५ भन्दा बढी रोगबाट नेपालमा वार्षिक झण्डै १६ हजार मानिसको ज्यान जाने गरेको बिभिन्न अध्ययनले देखाएको छ ।
यसरी प्रत्येक दिन ४२ जना र प्रत्येक ३० मिनेटमा १ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । सन् २००६ को एक सर्वेक्षण अनुसार नेपालमा ५६ दशमलब ५ प्रतिशत पुरुष र १९ दशमलब ६ प्रतिशत महिलाले सूर्तिजन्य पर्दाथ सेवन गर्ने गरेका छन् ।
सोही सर्वेक्षण अनुसार १२ प्रतिशत नेपाली किशोर–किशोरीले धुम्रपान तथा सुर्तिजन्य पर्दाथ सेवन गर्ने गरेका छन् भने ३५ प्रतिशत किशोर–किशोरी घरमा अरुले गर्ने धुम्रपानबाट पीडित हुने गरेका छन् । त्यस्तै नेपाल अर्वुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थको सेवनवाट बर्षभरी विश्वका ६० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
नियन्त्रणको लागि कानूनी व्यवस्था
सरकारले धुम्रपान नियन्त्रणका लागि सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगाएकोे छ । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार चुरोट बिक्रेताले गर्भवती तथा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई चुरोट तथा सुर्ति बिक्रि गरिएको पाइएमा कानूनबमोजिम दश हजार जरिवाना तथा कैद गर्न सकिने प्रावधान नेपाल सरकारको छ ।
त्यसैगरी ऐनको परिच्छेद ५ को १७ ‘क’मा सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा त्यस्ता व्यक्तिलाई उक्त स्थलबाट हटाउने, एक सय रुपैयाँ जरिवाना गर्ने वा दुबै सजाय गर्न सकिने छ । सार्वजनिक व्यक्तिले त्यसरी सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए कानुनअनुसार सचेत गराउने, स्पष्टीकरण लिनेलगायत सजायको व्यवस्था गरिएको छ ।
अगुवा नै धुम्रपानमा अग्रसर
नियम र कानूनको एउटा पाटो छ । व्यवहार भने फरक देखिन्छ । धुम्रपानबाट लाग्ने रोग र यसको असरबारे जानकारी दिने, उपचार गर्ने र चेतना जागृत गराउने समाजका प्रतिनिधि तथा विश्वासिलो पात्र भनेको स्वास्थ्यकर्मीहरु हुन् । तर उनीहरु आफै धुम्रपान सेवनमा अग्रसर देखिन्छन्् ।
अरुलाई नगर्न भनेर सुझाउने अनि आफू भने बिरामीकै अगाडिसमेत धुम्रपान गर्न नहिच्किचाउने कतिपय स्वास्थ्यकर्मीहरुको व्यवहारले धुम्रपान नियन्त्रणमा जटिलता थपिदिएको छ ।
त्यस्तै धुम्रपान नियन्त्रणका लागि सरकारले बनाएको नीतिको कार्यान्वयन गराउने प्रशासकहरु समेत अरुलाई कानूनको दायरामा ल्याउन खोज्ने तर आफू स्वयमले भने सार्वजनिक स्थलमै धुम्रपान गरिदिने कारण पनि समस्या देखिएको छ ।
आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नुपर्ने होे । धुम्रपानले मानिसको मुटु सम्बन्धी रोग, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सम्भावना ४ देखि १५ गुणा बढी हुन्छ । यो तथ्यलाई प्रायः सबै नेपालीले बुझेका पनि छन् ।
यस्तो अवस्थामा कानूनमा के व्यवस्था छ भनेर हेर्नुभन्दा पनि आफू, आफ्नो परिवार तथा समाजका हरेक व्यक्तिलाई धुम्रपानको कुलतमा फस्न नदिन र फसेकालाई बाहिर ल्याउन सबैले आफ्नो जिम्मेवारी ठानेर लाग्नु पर्ने हो ।
समस्या समाधानको लागि नियम कानून ठूलो कुरा हैन । प्रतिवद्धता प्रमुख कुरा हो । हामीले व्यवहार परिर्वतन गरेनौ भने कानूनमा जतिसुकै बढी सजायको व्यवस्था गरिए पनि समस्या निराकरण हुन सक्दैन ।
त्यसैले पहिलो कुरा त धुम्रपान जस्तो कुलतमा लाग्दै नलागौ, लागेका छौ भने मनदेखिकै प्रतिवद्धतासहित धुम्रपान त्याग्ने प्रण गरौ र कसैले सार्वजनिक स्थलमा धुम्रपान गरेको देखिन्छ भने त्यस्तो व्यक्तिलाई सम्झाइ बुझाइ गर्ने, कानूनी प्रावधानको बारेमा जानकारी गराउने र भएन भने सार्वजनिक रुपमा बहिष्कार गर्ने अभियान सुरु गरौं । अनि स्वास्थ्यकर्मी र कानून कार्यान्वयन गर्ने व्यक्तिहरुले पनि मन देखिनै धुम्रपानको कुलतलाई छोड्नै पर्छ ।
मिडियाको भूमिका
धुम्रपान नियन्त्रणको लागि चेतनामूलक अभियान एउटा प्रमुख उपाय हो । यो अभियानले हरेक मानिसलाई आफू पनि धुम्रपान नगर्ने र अरुलाई पनि धुम्रपान गर्नबाट रोक्ने कुरामा प्रतिवद्ध गराउन सक्छ । र यसको लागि मिडिया मुख्य माध्यम हुनसक्छ ।
सरकारले मिडियामा धुम्रपानसम्बन्धी विज्ञापन दिन नहुने व्यवस्थासंगै चेतनामूलक सन्देश प्रकाशन–प्रशारणको लागि समेत ठूलो रकम खर्च गर्दै आएको छ ।
सरकारले मिडियाहरुलाई विज्ञापनको रुपमा उपलब्ध गराउने सन्देश एउटा पक्ष भयो । मिडियाहरु स्वयमले पनि सन्देशमूलक सूचनाहरु प्रकाशन–प्रशारण गर्ने, धुम्रपानसंग सम्बन्धित चेतनामूलक रिर्पोट, समाचार, फिचरलाई प्राथामिकताका साथ प्रकाशन–प्रशारण गर्ने र धुम्रपानविरुद्ध क्रियाशील अभियन्ताहरुलाई प्रोत्साहित गर्न उनीहरुको कामलाई आफ्नो मिडियामा आवश्यक स्पेश दिने काम गर्नु जरुरी छ ।
अन्त्यमा,
नेपाल अर्वुद रोग निवारण संस्थाले धुम्रपानका कारण सन्. २०३० सम्म प्रतिवर्ष विश्वमा १ करोड मानिसको ज्यान जाने तथ्याङ्क सार्वजनिक गरेको छ । यो मानव जातिको लागि ठूलो चुनौती को विषय हो ।
यसको नियन्त्रण र सचेतताको लागि सरकारले कानून निर्माण गर्न, चेतनामूलक अभियान सञ्चालन गर्ने काम गर्दै आएको छ । कानून कार्यान्वयनको पाटो फितलो भएपनि सरकारको प्रयास सकारात्मक छ ।
मिडियाहरुले पनि चेतनामूलक सन्देश प्रकाशन–प्रशारण र धुम्रपानविरुद्धको अभियानका गतिविधिहरुलाई प्राथामिकता दिएका छन्, दिन्छन् पनि । तर यो नै धुम्रपान नियन्त्रणको अचुक उपाए हैन । यसको लागि मानिस स्वयम् सचेत र प्रतिवद्ध हुनु जरुरी छ ।
धुम्रपानको कारण हुने अकालको मृत्युबाट बच्न धुम्रपान नियन्त्रणका लागि कानूनी दायराभन्दा पनि व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । हरेक व्यक्तिमा धुम्रपान आफू पनि गर्दिन र अरुलाई पनि सचेत गराउछु भन्ने प्रतिवद्धता आवश्यक छ । त्यसैले आउनुहोस्, तपाई हामी सबैले धुम्रपान नगर्ने प्रतिवद्धता गरौ ।