‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ) – Nepal Press

‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ)

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुङ्गा’ रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लन्च गरिएको गीतमा अनमोल केसी र सुहाना थापा आकर्षण बने ।

कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर समावेश छ । उदितनारायण झाको स्वरमा रहेको फिल्मकै दशकौं पुरानो हिट गीतलाई रिमिक्स गरिएको रोमान्टिक गीतमा अनमोल र सुहाना फिचर्ड छन् ।

गीतमा उनीहरु रोमान्टिक देखिएका छन् ।

गीतलाई डोल्पास्थित चर्चित पर्यटकीय थलो से फोक्सुन्डोमा छायांकन गरिएको छ । गीत सार्वजनिक समारोहमा से फोक्सुन्डो गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी पनि सहभागी थिए । कार्यक्रममा उनीहरुलाई सम्मान समेत गरिएको थियो ।

बैशाख १ गते रिलिज हुने फिल्मलाई लिएर दर्शकमाझ औधी पर्खाइ छ । कोरोनाभाइरस महामारीले थलिएको घरेलु फिल्म उद्योगलाई लयमा फर्काउन फिल्म सहायक हुने आशा निर्माताले लिएका छन् । निर्देशक तथा अभिनेत्री झरना थापाले नेपाली फिल्मको विकास र अस्तित्वको लागि सबैजना एकजुट हुनुपर्ने बताइन् ।

कसले के भने ?

निर्देशक थापाले कोरोना महामारीको कठिन परिस्थितीमा एकअर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले नेपाली फिल्मको अस्तित्वकै लागि पनि सबैजना एकजुट हुनुपर्ने खाँचो औंल्याइन् ।

झरनाको यो अभिव्यक्ति बैशाख १ गते रिलिज हुने तयारीमा रहेका विदेशी फिल्मका वितरकप्रति लक्षित थियो भन्ने बुझ्न कठिन छैन । सोही मितिमा ए मेरो हजुर ४ सँगै आमिर खानको लालसिंह चड्डा र केजीएफ च्याप्टर २ रिलिज तयारीमा छन् । बक्सअफिसमा यी तीन फिल्मको भीडन्त कडा हुने अनुमान गरिएको छ ।

अभिनेत्री सुहाना थापाले पनि आमा तथा निर्देशक झरनाकै कुरामा जोड दिइन् । कोरोनाले प्रभावित फिल्म उद्योगलाई उकास्न फिल्मलाई सघाउन उनको आग्रह थियो भने अर्कोतर्फ उनले से-फोक्सुन्डोजस्ता थलोको पर्यटनमा सघाउन समेत अपिल गरिन् ।

अभिनेता अनमोल केसीले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्मको रिमेकमा काम गर्न पाउँदा खुशि लागेको बताए । उनले श्रीकृष्णको निधनको एकदिनअघि आफूले सपनामा उनलाई देखेको र ‘किप इट अप’ अर्थात हौसलालाई जारी राख भनेको स्मरण गरे ।

निर्माता आग्रह गरे आफू जतिसुकै बेला पनि फिल्म छायांकनलाई तयार रहेको उनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिले बोर्डले फिल्म रिलिज र सेयर बाँडफाँटलाई लिएर एउटा ड्राफ्ट तयार गरिरहेको र चाँडै सार्वजनिक हुने जनाए ।

फिल्म निर्माता सुनिल कुमार थापाले ए मेरो हजुरका सबै सिरिजमा आफूले नेपालका लोकेसनमार्फत पर्यटन प्रवद्र्धन गरिरहेको र यसमा पनि से फोक्सुन्डोलाई चित्रण गरेको बताए । आगामी सिरिजमा पनि अन्य लोकेसनलाई एक्सपोज गर्ने उनले जनाए ।

ए मेरो हजुर ४ आगामी बैशाख १ गते प्रदर्शन हुने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर