युद्धमा दुई छोरा गुमाएकी ७३ वर्षीया तुल्साको प्रश्न- लुछाचुँडी कसका लागि ?
रुपन्देही । सशस्त्र युद्धमा धेरै सर्वसाधारणले ज्यान गुमाए । कति बेपत्ता भए । कति अंगभंग भए । सरकार तथा विद्रोही पक्षबाट भएका यस्ता घटना भएको वर्षौ हुँदा पनि परिवारमा त्यो घाउ पुरिएको छैन । गाउँ गाउँमा यस्ता घटनाका उदाहरण अहिले पनि ताजै छन् ।
यही आन्दोलनको पीडा सहेर बसेकी छन् रुपन्देहीको सैनामैना नगरपालिका-९ बाँसगढीकी ७३ वर्षीया तुल्सा पाण्डेले । बाँसगढी चोकदेखि करिब ५ सय मिटर पश्चिममा सहिद गेट बनाइएको छ । चाइनिज इँट्टाले बनाइएको गेटको माथिल्लो भागमा दुईजनाको सालिक राखिएको छ । त्यो सालिक उनै तुल्साका दुई भाइ छोराहरुको स्मृतिमा बनाइएको हो ।
सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्षबाट मारिएका र बेपत्ता पारिएका दुई छोराहरुकै सम्झनामा तुल्साले यो गेट बनाएकी हुन् । छोराहरुको स्मृतिमा बनाइएको सहिद गेटदेखि १ सय मिटर दक्षिणतर्फ रहेको कच्चीघरमा तुल्सा कान्छी छोरी विष्णु खत्रीसंग दिन बिताएकी छन् ।
नेकपा माओवादीले गरेको सशस्त्र युद्धको क्रममा मृत्यु भएका र बेपत्ता पारिएका सयौं युवाहरुको तस्बिरको बीचमा तुल्साका आंखाले आफ्ना दुई छोराहरुको तस्बिर आइरहन्छ ।
प्रत्येक पटक घरभित्र र बाहिर गर्दा दलानमा टांगिएको छोराहरुको तस्बिरमा उनको ध्यान जान्छ । २०४४ सालमा पति झविन्द्रलाल पाण्डेको मृत्यु भएपछि तुल्सा चारजना छोरी र दुई छोरा लिएर गुल्मीको सिमिचौरबाट बांसगढीमा बसाई सरेकी हुन् । श्रीमानले ४० सालतिरै त्यो स्थानमा १ विगाह आठ नम्बरी जग्गा किने पनि मृत्युपछि मात्र यता आएकी हुन् । दुवै छोराहरु नभएपनि सबै जग्गा तुल्साले चारजना छोरीहरुलाई बराबर बनाइदिएकी छन् ।
श्रीमान बिते पनि तुल्साले छोराछोरीको पालनपोषणमा कुनै कमी राखिनन् । छोरीहरुको विहेबारी गर्दै घरजममा पठाउंदै थिइन्, छोराहरु पढ्दै थिए । २०६० सालमा उनको परिवारमा कहिल्यै नमेटिने घटना आइलायो ।
तुल्साका कान्छा छोरा युवराजले भर्खर एसएलसी परीक्षा दिएका थिए । १७ वर्षीय युवराज विद्यालय पढ्दा नै माओवादीमा लागेका थिए । एसएलसी परीक्षा दिएपछि उनी भूमिगत भए ।
युवराज माओवादी सेनामा लागेको थाहा पाएपछि सुरक्षाकर्मीहरु दैनिक घर वरिपरि आउने र उनका दाजु दुर्गालाई केरकार गर्न थाले । घरमा अपरिचित व्यक्ति आएको थाहा पाउनेबित्तिकै खानतलासीको लागि प्रहरी घरमा आईपुग्थे । भूमिगत भएपछिको पांचवर्षमा युवराज मुस्किल ६/७ पटक घरमा आएको तुल्सा सम्झना गर्छिन् । आमालाई भेट्न घरमा आएपनि राती घर बस्दैनथे, गाउंमा साथीहरुको घरमा गएर सुत्थे, भोलिपल्ट बिहानै गइहाल्थे । भाइ माओवादी युद्धमा लागे पनि दाइ दुर्गा भने सुरुमा लागेका थिएनन् ।
तर सुरक्षाकर्मीले गर्ने केरकार र खानतलासीबाट वाक्क बनेका दुर्गा ५८ सालतिर भारत गए । घरमा धेरै मेहनतको काम नगरेका दुर्गाले मुग्लानमा अरुको खटनपटनमा रहेर काम गर्न सकेनन्, भारत गएको ७/८ महिनामै घर फर्किए । केही महिना गाउँमा नदेखिएका दुर्गा घर आएपछि सुरक्षाकर्मीले माओवादीमा लागेको भनेर दैनिक सताउन थाल्यो ।
०५९ सालमा माओवादी सेनामा लागेका दुर्गा एकवर्षमै २०६० साल फागुन १७ गते २५ वर्षको उमेरमा मारिए । ‘कान्छो भूमिगत भएपछि घर छैन तिमि पनि गयौ भने हामी कसरी बस्ने भनेर धेरै सम्झायौं तर हाम्रो बिन्ति नसुनी गयो, सधैलाई जानलाई रहेछ’ माइली दिदी कमला श्रेष्ठले सम्झना गर्छिन् ।
फागुन १७ गते सांझ दुर्गा बांसगढी सेरुवास्थित साथीको घरमा क्यारेमबोर्ड खेलिरहेका थिए । दुर्गा गाउँमा आएको सुरक्षाकर्मीले दिउँसो नै थाहा पाएका थिए । राति ९ बजेतिर क्यारेमबोर्ड खेल्दै गरेका दुर्गासहितका चारजनालाई घेरा हाली गोली हानिएको थियो ।
घटनास्थल घरदेखि ५ सय मिटर नजिकै रहे पनि तुल्सा र दिदीहरुले दुर्गाको हत्या भएको भोलिपल्ट बिहान मात्र थाहा पाए । दुर्गाको हत्या हुँदा कान्छो छोरा युवराज सुरक्षाकर्मीको हिरासतबाट बेपत्ता भइसकेका थिए । गुल्मीको वामी टक्सारमा भएको लडाइँमा गोली लागेर गम्भीर घाइते भएका युवराज उपचारको लागि भारत गएका थिए । उपचार गरी नेपाल फर्किएका युवराज २०६० साल असोज १९ गते लुम्बिनी सुन्डिहवाबाट गिरफ्तारमा परेका हुन् ।
नेपाल प्रहरीले गिरफ्तार गरेको थाहा पाएपछि तुल्सा भोलिपल्ट जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा छोरा खोज्दै पुगिन् । प्रहरी हिरासतमा रहेका छोरा भेट्न केही खानेकुरा, कपडा र पैसा लिएर पुगेकी तुल्सालाई जिल्ला प्रहरी कार्यालयको गेटबाटै भित्र जान दिइएन ।
वर्षौदेखि भेट नभएको छोरा भेट्न गएकी तुल्सा दिनभरी प्रहरी कार्यालय बाहिर बसेर सांझ निराश बन्दै घर फर्किइन्, त्यसपछि पनि छोरो खोज्दै उनी दर्जनौ पटक जिल्ला प्रहरी कार्यालय भैरहवा र रामनगरस्थित नेपाली सेनाको व्यारेकको गेटमा पुगिन्, तर छोरालाई भेट्न त परैको कुरा अवस्था बुझ्न समेत पाइनन् ।
१०/१२ वर्षसम्म छोरा टुप्लुक्क घर आइपुग्छ कि भन्दै हरेक सांझ घरको आंगनबाट बाटो हेर्ने तुल्सालाई अब भने छोरा फर्किन्छ भन्ने आशा नै हराइसकेको छ । तर वास्तविक अवस्था नै थाहा नदिँदा मनमा थप पीडा हुने उनले बताइन् ।
माओवादी युद्धमा लागेका कारण दुईवटै छोरा गुमाएकी तुल्सा अहिलेको राजनीतिप्रति सन्तुष्ट छैनन् । दुर्गा र युवराजजस्तै हज्जारौ युवाको बलिदानीले कतिलाई सत्तामा पुर्यायो । तर तुल्साजस्तै परिवारलाई भने सडकमा पुर्याएको छ । उनीहरुका सुन्दर सपना त्यही युद्धमा उजाडिएको छ । ‘सोझा र गरिबका छोराहरुलाई लड्न लगाएको आफूहरु अहिले मिल्नलाई रहेछ, कुर्सीका लागि लडेजस्तो गर्नेहरु स्वार्थ मिल्नेबित्तिकै मिलिहाल्छन् हामीले भने जिवनभरीको पीडा भोग्नुपरेको छ’ तुल्साको गुनासो छ ।
दुवै छोराहरु माओवादी युद्धमा रहँदा तुल्साको घरमा नेता कार्यकर्ता आउजाउ गरिरहन्थे । तर एउटा छोराको मृत्यु र अर्को बेपत्ता भएपछि भने तुल्साको घरमा उनी हरुको आउजाउ हराएको छ ।
दुईवटै छोरा जनयुद्धका कारण गुमाएकी तुल्साले सरकारबाट छोराहरुको जीवन गुमे बापत १०/१० लाख क्षतिपूर्ति पाएकी थिइन् । त्यही रकमको केही हिस्साबाट छोराहरुकै स्मृतिमा सहिद गेट निर्माणसंगै स्थानीय जनचेतना माविमा अक्षयकोष स्थापना गरिदिएकी छन् उनले ।
नेताहरुले केका लागि हाम्रा छोराहरुलाई युद्धमा पठाए, अहिले केको लागि लडिरहेका छन्, म जस्ता धेरै आमाहरुको आँशुले यिनीहरुको चेत खुलोस्– उनले भनिन् ।
पढाएर सामान्य गुजारा गरिरहेकाे र ठूलाे परिवार भएकाे छविलालका परिवारले विलासी जीवन विताउन पाई रहेका छन् । उपलव्धी त्यहि हाे । मास्टरनै मात्र भएका भए खान लाउन कै समस्या हुन्थ्याे अहिले अरबाैं पैसा व्यापारीका नाममा राखेर माेज गरिरहेका छन् । गरिवलाई त पीडा मात्र हाे नि। त्यहि काँग्रेसकाे पुच्छर बनेर सत्तामा पुग्नलाई त किन दुनियाका छाेराछाेरी मार्नुपर्थ्याे र ?