माधव नेपालको चेतावनी- नेकपा एसको वैधानिकतामाथि कसैले धावा बोल्छ भने सहन सक्दैनौं (भिडिओ) – Nepal Press

माधव नेपालको चेतावनी- नेकपा एसको वैधानिकतामाथि कसैले धावा बोल्छ भने सहन सक्दैनौं (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे कसैले प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।

नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा सुनुवाइ तोकिएको दिन नेपालले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी उनको छ ।

अध्यक्ष नेपालले भने, ‘हामी वैधानिकरूपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रूपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं । त्यसो हुनाले हामी अघि बढेका छौं ।’

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने दोहोर्‍याए ।

‘स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ । अव हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जानेछ ’, नेपालले भने ।

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको उनको प्रष्टोक्ति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर