रेणुका-अभिषेकको रोचक प्रेमकहानीः खटपट हुँदा पाँच महिना बोलचाल बन्द – Nepal Press
सन्दर्भः प्रणय दिवस

रेणुका-अभिषेकको रोचक प्रेमकहानीः खटपट हुँदा पाँच महिना बोलचाल बन्द

रेणुका नगरकोटी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन् । उनको खेलकुदकै क्रममा त्यतिबेलाका फुटबल खेलाडी अभिषेक घिसिङसँग भेट भयो । क्रमशः भेटले प्रेमको रुप लियो । अन्नतः सात वर्षको प्रेम दाम्पत्य जीवनमा रुपान्तरण भयो । अन्तरजातीय नगरकोटी र घिसिङको प्रेमकहानी निकै रोचक छ ।

प्रस्तुत छ उनीहरुको प्रेमकहानी उनीहरुकै शब्दमा:

रेणुकाको प्रेम अनुभव– एकताका पाँच महिना बोलचाल भएन

हामी २०६९ सालदेखि बोल्न थालेको हौं । पहिला मलाई फेबुकमा रिक्वेस्ट आएको थियो । मैले नचिनेको मान्छे भनेर एसेप्ट गरेको थिइनँ । पछि थाहा भयो, मेरो साथीको साथि हुनुहुँदो रै’छ । अनि एसेप्ट गरेर बोल्न थाले । उ मसँग सधैं बोलिरहन खेज्थ्यो । मलाई चाहीँ कस्तो मान्छे हो जस्तो लागेर इग्नोर गर्ने गर्थेँ ।

एक वर्ष हामी साथी जसरी नै बोल्यौं । उसले चाहीँ भन्ने गर्थ्यो– माया गर्छु, मन पराउँछु । मलाई चाहिँ विश्वस नै लाग्दैन थियो ।

हामी लामो समय बोलीसक्दा पनि भेट भने भएको थिएन । सन् २०१४ मा साफ च्याम्पियनसिप खेल्न पाकिस्तान गएकी थिएँ । त्याहाँबाट आएपछि हामीले भेट्ने योजना बनायौं ।

पहिलोपटक मैले उसलाई स्वयम्भुमा भेटेको थिएँ । मैले उसलाई चक्लेट ल्याइदिएकी थिएँ, उसले केही ल्याइदिएन ।

पहिलोटि उसलाई भेट्दा एकदमै सानो उमेरको जस्तो लाग्यो । झन् उमाथि विश्वास लागेन । तर खै के भयो, बोल्दै गएपछि माया लाग्न थाल्यो ।

मैले जहिले जति इग्नोर गरे पनि उसले सधैं सपोर्ट गर्यो । मलाई त्यहीं भएर पनि उ मन पर्न थाल्यो ।

हामीले २०७० साल असार २५ गतेदेखि ‘अफिसियल्ली’ नै लब रिलेसनलाई अगाडि बढायौं । ऊ पनि पहिला फुटबल खेल्थ्यो । उसले ब्वाइज युनियनबाट बी डिभिजन लिग खेल्थ्यो । पछि इन्जर्ड भएर खेल्न छोडेको हो ।

पहिला प्रस्ताव चाहीं अभिषेकले राखेको हो । पछि खेल्न छोडेर फलफुलको बिजनेस गर्छ, बल्खुमा ।

म खेल्न गएको बेला क्याम्पमा हुँदा धेरै कुरा हुन पाउँदैन थियो । त्यसैले झगडा पनि परिराख्थ्यो । हामी एकचोटि चार–पाँच महिना बोलेनौं । यो १३ औं साग गेम्स अगाडिको कुरा हो ।

कारण चाहीँ म एपीएफको ट्रेनिङमा थिएँ । त्यतिबेला एक महिना मोबाइल चलाउन दिएको थिएन । मैले उसलाई बुझाउन खोज्दा मेरो कुरा नबुझे जस्तो लाग्यो । अनि मलाई उसले वास्ता नगरे जस्तो लाग्यो । र उसले मेरा केही कुरा विश्वास गरेको थिएन, जसले गर्दा धेरै नराम्रो लागेको थियो । त्यसैले मैले बोल्न छोडिदिएँ ।

पछि म साग खेल्न पोखरा गएको थिएँ । उ पनि मेरो गेम हेर्न आएको रैछ । अनि हामी बसेको होटल नजिकै बसेको रहेछ । त्यसपछि त्यहाँ आएर फोन गर्ने, गेमको भिडियो बनाएर पठाउने गर्न थाल्यो । त्यत्रो वर्षको सम्बन्धमा माया त धेरै थियो । नबोली बस्न सकिनँ त्यहाँबाट विस्तारै हाम्रो कुरा हुन थाल्यो र फेरि सम्बन्ध राम्रो हुँदै गयो ।

त्यसपछि म उसले मलाई उसको परिवारसँग भेट गरायो । पहिलोचोटि मेरो उसको बाबा ममी कोहीसँग पनि राम्रो कुरा भएन । उसको ममीलाई फुटबल खेल्ने केटी कस्तो हो भनेर मन पर्दैन थियो पहिला । पछि चाहीँ विस्तारै सबै राम्रो हुँदै गयो । कुराहरु विवाहसम्म पुग्यो ।

हामीले अन्तरजातीय विवाह गरेका हौं । म क्षेत्री, ऊ तामाङ । तर समस्या भएन, पविारलाई मनाउन । सबै बुवाआमाको सपना त हुन्छ, आफ्नै जातको सँग विवाह गरोस् भन्ने । तर मेरो घरमा मेरो खुसीले प्राथमिकता पायो, जातभन्दा पनि ।

उसको घरमा त बाबाममीकै अन्तरजातीय विवाह हो, केही हुने कुरै भएन । मेरो घरमा पनि छोरीको खुसीको लागि भनेर रोकावट भएन । मेरो घरमा हिन्दू परम्परा अनुसार नै विवाह भयो, उसको घरमा उसकै परम्परा अनुसार ।

हाम्रो २०७७ साल मंसिर १६ गते विवाह भयो । धेरै खुसी भएकी थिएँ, त्यत्तिका वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थियौं । विवाहको दिन चाहीँ सबैजना चिनेको भए पनि म नर्मल हुन सकिनँ । जन्ती आँउदादेखि नै धेरै डराएकी थिएँ । म काँपिरहेकी थिएँ । तर, किन हो थाहा भएन । सायद त्यो क्षण सबैलाई त्यस्तै हुन्छ ।

विवाहपछि केही हद गाह्रो नै हुँदो रै’छ । पहिला सबै कुरा आफ्नै सुरमा हुन्थ्यो । आफ्नो र आमा–बुवाको बारेमा सोचे पुग्थ्यो । अहिले हरेक कुराको जिम्मेवारी दोब्बर भएको छ ।

हामी सबै परिवा संगै बस्छौं । पहिला जस्तो फ्री हुँदिनँ । जे भए पनि पहिलाभन्दा फरक भएको छ । समय व्यावस्थापनमा समस्या हुन्छ धेरै । आजकल ट्रेनिङमा ढिला पनि हुने गरेकी छु । छोरी भए जस्तो हुँदैन रै’छ बुहारी हुँदा ।

जे जति समस्या भएपनि मलाई खेल्नलाई रोक छैन । जहिलेसम्म सक्छौ खेल भन्नु भएको छ ।

मलाई मेरो श्रीमानको धेरै सपोर्ट छ । बुझ्नु हुन्छ । त्यहीं ठूलो कुरा हो ।

अभिषेकको प्रेमानुभूति– खटपट भए पनि प्रेम टुट्न दिएनौं

म पहिलाको धेरै कुरा बिर्सिन्छु । तर मैले सधैं पछ्याउँथे । म पनि खेल्थे अनि एपीएफमा कसरी जाने भनेर बुझ्न उसलाई फेसबुकमा रिक्वेस्ट पठाएको थिएँ ।

उसले मलाई सधैं इग्नोर गर्ने, बोल्नै नखोज्ने । नम्बर त दिएको थियो तर नमिल्ने नम्बर रै’छ । अनि मैले अलि समय मतलब गरिनँ । पछि उसैले कल गरेको थियो मलाई ।

भेटेर गफ हुन थालेपछि माया बस्न थाल्यो । म पछ्याएर हिँड्थें । पक्कै पनि मैले नै प्रपोज गरेको हो । उसले खेलेको असाध्यै मन परेको भएरै म पछि लागेको हो ।

पहिला मैले पनि खेलेको भएर फुटबलमा के कस्तो हुन्छ थाहा हुन्छ । कहिलेकाहीं लामो समयसम्म कुरा हुन पाउँदैन । बोल्न नपाउँदा पहिला–पहिला नयाँ जोडी हुँदा रिस उठ्थ्यो, रिसाँउथे । पछिपछि बुझेर म्यानेज गर्न थालें ।

धेरै मिलन–विछोड भयो । घरमा मैले सुरुमै बुहारी खेलाडी हो भनेर नै लिएर आएको होे । मेरो घरको धेरै मान्छे स्पोर्टस्मै लागेको छन् । भाइ पनि खेल्छ । बुवा पनि खेलहरु मन पराउनु हुन्छ ।

पहिला नचिन्दा ममीले मन नपराउने, चासो नदेखाउने गर्नुहुन्थ्यो । एकचोटि उसको गेम हुँदा टिभीमा देख्नु भएछ । त्यसपछि पूरै गाउँले बटुलेर गेम देखाउनु भएछ, मख्ख परेर बस्नु भएछ । टिभीमा उसको खेल देखेर नै मन पराउन थाल्नु भएको हो ।

घरमा पूरै उसलाई सपोर्ट छ । उसले सकुन्जेल खेलोस् भनेर हामीले बच्चाको योजना बनाएका छैनौं ।

बानी व्यवहारको कुरा गर्दा म धेरै समय नरिसाए पनि चाँडो–चाँडो रिसाउने गर्छु । त्यस्तो बेलामा उसले सम्झाउने, बोली नफर्काउने, नबोली बस्ने गर्छ । त्यो धेरै नै मन पर्छ ।

पहिलादेखि नै म उसँग जीवन बिताउने नै सोच्थें । दुवैजना खेलाडी विवाह गर्दा कस्तो राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो । सम्बन्धको बीचतिर खटपट भएको थियो । तर सम्बन्ध टुट्न दिएनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर